पोखरा । क्रिकेट एसोसिएसन नेपालका (क्यान)का अध्यक्ष  चतुर बहादुर चन्दले नेपालमा क्रिकेटको क्रेज देशभर फैलनुपर्ने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जसका लागि वर्ल्डकप जस्ता इभेन्टहरू काठमाडौँ बाहिर गर्नुपर्छ । यसले क्रिकेटको क्रेज मात्र नभएर देशको आर्थिक व्यवस्था बलियो बनाउन सकिने उनको दावी छ । यो कुरा देशका राजनीतिक दल र नेताहरूलाई बुझाउन जरुरी भएकोमा उनको जोड थियो ।

वर्ल्डकपका लागि सबैभन्दा राम्रो भेन्यु काठमाडौँमा भएपनि त्यसपछिको भेन्यु पोखरा  हुन्छ भन्ने आफ्नो सोचाइ रहेको उनले बताए । सन् २०२७ मा आयोजना हुने वर्ल्ड कप महिला यू १९ प्रतियोगिताको भेन्युको रुपमा पोखराको सम्भावनाबारे बुझ्न आइसिसीको प्रतिनिधि सहितको टोली पोखरामा आएको उनले खुलाए ।

पोखरा आएको टोलीले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा र पोखरा महानगर प्रमुख धनराज आचार्यसँग भेट गरेको थियो। अध्यक्ष चन्द्रले पोखरामा फेज वानको बेसिक पूर्वाधार नहुँदासम्म वर्ल्डकप भेन्यु तोक्न गाह्रो हुने बताए । यहाँ बेसिक पूर्वाधार केही पनि नभएको र पोखरा रङ्गशालामा रहेको क्रिकेट ग्राउन्ड चौर मात्र भएको दावी गरे  । त्यो चौरमा वर्ल्डकप खेल्न नसकिने उनले प्रष्ट पारे । अझैपनि झण्डै २० महिनाको समय रहेकोले पूर्वाधार निर्माण हुने सके पोखरामा वर्ल्डकप हुन सक्ने बताए । 

पोखरामा नभएपनि वर्ल्डकप खेलाउनलाई ग्राउन्डको अभाव भने नहुने अध्यक्ष चन्दले सुनाए । मन्त्री तथा नगर प्रमुखले समयमै गर्छौ भन्ने आश्वासन दिएको भएपनि यहाँको सिस्टमले के गर्छ हेर्न बाँकी रहेको खुलाए  । सुन्दर ग्राउन्ड हिमाल देखाएर मात्र हुने हो की सुविधा बढाएर हुने हो उनको प्रश्न थियो ।

वर्ल्डकप आयोजना गर्दा झण्डै ५ सय वटा  फाइभ स्टार होटलको कोठा आवश्यक पर्ने भएपनि पोखरामा १ सय २५ मात्र छ भन्ने आफूले जानकारी पाएको उनले सञ्चारकर्मी माझ बताए । मंसिर १५ बाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपाली क्रिकेटलाई माथि पुर्‍याउने विश्वास उनले गरे ।

आइसिसीका रिजनल म्यानेजर रोहित पोदार समेत वर्ल्डकपका लागि आइसिसीले निर्धारण गरेको विषयहरु प्राथमिकतामा रहनु पर्ने औंल्याए । अब करिव २ वर्षको समय बाँकी रहेकोले यहाँको सरकार दुई वर्ष भित्र पूर्वाधार निर्माणका लागि तयार भए आइसिसीले यसलाई सकरात्मकरुपमा लिने बताए । क्रिकेट खेल मैदानको अवलोकन तथा यहाँ भएको भेटघाटले आफू निकै उत्साहित रहेको जनाए । पूर्वाधार निर्माण आफूहरुको पहिलो शर्त रहेको उनले प्रष्ट पारे ।

एसिसी डेभलप्मेन्ट म्यानेजर इमान्यूल इस्लाम समेत नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त गरेको शाख महत्वपूर्ण रहेको जनाउँदै वर्ल्डकपका लागि खेल मैदान कम्तिमा पनि आइसिसीले निर्धारण गरेको मापदण्ड पुरा हुनुपर्ने औल्याए । उनले आइसिसीको मापदण्ड अनुसार अन्तर्राष्ट्रियस्तरको पेभिलियन, मिडिया सेन्टर, शौचालय, सहज आवत जावतका लागि सडक र प्रशिक्षणका लागि अतिरिक्त दुई खेल मैदान आवश्यक हुने जनाए ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नो सम्पूर्ण ध्यान सन् २०२७ विश्वकपका लागि रहेको जनाउँदै पूर्वाधार निर्माणका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0