पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियाको नियमन जरुरी भएको बताएका छन् । सार्वजनिक सेवा विभाग रेडियो नेपाल काठमाडौंले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका उनले अनलाइन मिडियाको परिचालन र व्यवस्थापनमा अराजकता रहेको जिकिर गरे । त्यसलाई नियन्त्रण वा नियमन गर्नेको लागि प्रेस काउन्सिलको स्थापना भएको भएपनि त्यसलाई अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागेको बताए । त्यो विधेयक हिउँदे अधिवेशनबाट पारित हुने विश्वास उनको छ ।
अनलाइन मिडियालाई व्यवस्थापन गर्ने, नियमन गर्ने र स्वनियमन गर्ने काम पनि मिडिया काउन्सिलले प्रभावकारी ढङ्गले काम गर्न सकोस् भनेर त्यसलाई स्वतन्त्र स्वायत्त संस्थाको रुपमा स्थापना गर्नको लागि विधेयक बनाउन लागिएको खुलाए ।
नेकपा एमालेका उपमहासचिव समेत रहेका मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोग त्यसको सञ्चालन र नियमन कसरी गर्ने भन्नेमा समेत सरकारले ध्यान दिएको बताए । अहिले सामाजिक सञ्जालको माध्यमबाट समाजमा विद्वेष फैलाउने विभाजन ल्याउने काम भैरहेको भन्दै त्यसको प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक मन्त्री परिषदमा ल्याएर पास गर्ने चरणमा पुगेको सुनाए । यो क्षेत्रको अराजकतालाई अन्त्य गर्ने, अनुशासित बनाउदै ब्रोडकास्टिङ मिडिया, प्रिन्ट मिडिया र अनलाइन मिडियालाई राष्ट्र निर्माणमा व्यवस्थित ढङ्गले नलाने हो भने सञ्चार मन्त्रालयको काम अधुरो हुने उनले बताए ।
मन्त्री गुरुङले पछिल्लो समयमा इन्टरनेटका माध्यमबाट अपराधहरू भइरहेको शोषण दमन भैरहेको भन्दै सबै साइबर क्राइमलाई रोकथाम गर्नको लागि साइबर सेक्युरिटी सम्बन्धी विधेयक तयार गरेर यहीँ वर्ष भित्रमा कार्यान्वयनमा ल्याएर साइबर क्राइमलाई नियन्त्रण गर्ने कार्य आफ्नो मन्त्रालयले गर्ने बताए ।
मन्त्री गुरुङले हाल ९३ प्रतिशत जनताको पहुँचमा पुगेको दावी गरिएको रेडियो नेपाल र ७२ प्रतिशतको पहुँचमा पुगेको दावी गरिएको नेपाल टेलिभिजनको पहुँच सबै नेपालीमा यस वर्षभित्र पुर्याइने उल्लेख गरे । सरकारी सञ्चार माध्यम पुराना ऐनहरूबाट सञ्चालन भइरहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण कार्यान्वयनपछि यो क्षेत्रमा नयाँ आयाम थपिने दावी उनले गरे । मन्त्री गुरुङले पोखरालाई अब शैक्षिक हब, मेडिकल हब र आईटी हबको रुपमा विकास गर्नुपर्ने र यसका लागि आईटी पार्क बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, रेडियो नेपालका निर्देशक पुष्करराज गौतम, कार्यकारी निर्देशक अमरध्वज लामा, कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्ती, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, रेडियो नेपाल पोखराका प्रमुख शान्ति गुरुङ, कार्यक्रम अधिकृत पुरुषोत्तम न्यौपाने लगायतले बोलेका थिए ।