पोखरा । कलाकार डिबी गुरुङको व्यस्तता बढ्न थालेको छ । फिल्म छायाँङ्कनका क्रममा यतिबेला गोरखा सिराचनचोक आरूबोटमा रहेका उनले एउटै महिनामा तीनवटा फिल्ममा काम गरिरहेका छन् । यसरी एकैपटक तीनवटा फिल्ममा काम गर्ने अवसर पाउँदा समय व्यवस्थापन गर्न समेत उनलाई हम्मेहम्मे परेको छ । उनी मंसिर महिनामा ओमप्रकाश गुरुङको पुर्ख्यौली थलो, दीप गुरुङको जुन-किरी र खिल बहादुर गुरुङको रिमैमा व्यस्त छन् । पुर्ख्यौली थलोको छायाँङ्कन सकियो भने अहिले रिमैको छायाँङ्कन भैरहेको छ ।

फिल्मी क्षेत्रमा डिबी गुरुङको नामले परिचित उनको वास्तविक नाम धन बहादुर गुरुङ हो ।  रूपा गाउँपालिका वडा नम्बर पाँचमा जन्मेका उनी हाल पोखरा १२ लाली गुराँस टोलमा बस्छन् । लाहुरे परिवारमा हुर्किएपनि उनको रहर स्वदेशमानै केही गर्नमा रह्यो । परिवारबाट लाहुरे बन्न गरिएको आग्रह विभिन्न बहाना बनाएर उनले टारे । कलाकारिताको माध्यमबाट आफ्नो भाषा संस्कृतिको संरक्षण गर्न लागेका उनले दुई दर्जन बढी गुरुङ फिल्ममा अभिनय गर्ने अवसर पाइसके । यसका अलावा केही नेपाली फिल्ममा समेत काम गरेका छन्  ।

२०५८ सालबाट फिल्मी क्षेत्रमा काम गर्न थालेका उनले अभिनय गरेका गुरुङ फिल्ममा आजी, नानु २, म्हि च्याबा, पुन्टे साइला, च्हा च्हमी, एलि, मनकाशी, सुराक, जुनि जुनि,  नरे,  मनको बाबरी, शिरसुवा, अन्जुली, गेट पास, म्हो, र्मुबे मुसार, सबन मु, म्ले क्यु, युके सुइटर, फिच्यो, नकई फू, झुपडी, पाते २ लगायत रहेका छन् ।

 यसैगरी नेपाली फिल्म पूर्णबहादुरको सारङ्गी, पुरानो ढुङ्गा, दुई नम्बरी, मिस्टर झोले, कबड्डी ३, दयारानी लगायतमा समेत अभिनय गर्ने अवसर पाए । केही म्युजिक भिडियोमा समेत काम गरेका उनले फिल्मी क्षेत्रका निर्माता तथा प्रोडक्सन मेनेजरको रुपमा समेत काम गरेका छन् । 

उनले काम गरेको बसन्त र उनको सुइटर प्रदर्शन हुन बाँकी नै छ । सबैले चिन्ने कलाकार बन्ने सपना देखेका उनले त्यसको लागि निरन्तर मेहनत गरिनै रहेको गुरुङ बताउँछन् । पछिल्लो समयमा व्यस्तता बढ्न थालेपछी उनी उत्साहित मात्र छैनन् आफ्नो अभिनय क्षमतामा थप निखारता थप्न उतिकै परिश्रम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0