पोखरा । विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनी गरेको जोण्टा क्लब अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा सैनिक आवासीय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेन्डरी स्कुलका रुक्साना पुनले द्वितीय, कालिका सेकेन्डरी रोश्मी मगरले तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगिताका बिजेताहरूलाई एक समारोहबीच नगद सहित ट्रफी, प्रमाण–पत्रले पुरस्कृत गरियो । उनीहरूलाई आयोजक क्लबका अध्यक्ष रोजिना रञ्जित बिजुक्छे, मिस नेपाल इन्टरनेसनल करुणा रावत, क्लबका निवर्तमान अध्यक्ष मोनिका थापा लगायतले पुरस्कार प्रदान गरे । सो अवसरमा बोल्दै कार्यक्रमका संयोजक वन्दना कार्की केसीले समाज रूपान्तरणमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जोण्टाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताइन् । क्लबले अभियान अन्तर्गत सडक नाटक, क्यान्डिल लाइट लगायतको कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिइन् ।

पोखराको घारिपाटनस्थित आभ्या क्लबमा सम्पन्न प्रतियोगिताका निर्णायक मनोज तामाङले सहभागि सबैले उत्कृष्ट चित्र बनाएको बताउँदै केही नम्बरको अन्तरमा मात्रै विजयी घोषणा गर्नुपरेको बताए । कलाकार कृपा श्रेष्ठ पनि निर्णायकमा रहेकी थिइन् । क्लबका सचिव सृजना कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0