पोखरा । दशौँ राष्ट्रिय उद्योग दिवस २०८१ पोखरामा प्रभातफेरी, अन्तरक्रिया र सम्मान कार्यक्रम गरेर मनाइएको छ । दिवसको अवसरमा पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराले प्रदेशका १० जना उद्यमीलाई छुट्टाछुट्टै विधाबाट सम्मान गरेको छ ।
जसअनुसार युवा व्यवसायीबाट पोखरा नुडल्स तथा पोखरा फुड्स प्रालिका श्रीराम पाण्डे, ठूला उद्योग अधिक उत्पादन तथा रोजगारतर्फ सुजल फुड्स प्रालिका सुनिल श्रेष्ठ, पुस्तान्तरण पुराना व्यवसायमा निरन्तरतातर्फ गण्डकी ह्युम पाइप तथा गण्डकी जीआई इन्डष्ट्रि प्रालिका प्रतीक अधिकारी, पर्यटन क्षेत्रमा रूपाकोट रिसोर्टका पुष्पराज अधिकारी सम्मानित भए ।
यस्तै नवीनतम प्रविधि तर्फ गोशेली प्रिन्ट प्याक प्रालिका सुनिल गोशेली, वातावरण संरक्षण तर्फ हिमालयन लाइफ प्लाष्टिकका प्रकाश भारती, हस्तकलातर्फ जय सन्तोषी माताकी पम्फा थापा, महिला उद्यमीतर्फ लक्ष्मी जोशी, कृषि तर्फ पालुङ पोल्टि एण्ड फिसरीका अशेष भट्टराई, स्टाटप व्यवसायीतर्फ गाजा बेकरी तथा बिस्कुट उद्योगका चानसिँह श्रीसलाई सम्मान गरियो ।
उनीहरूलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, सचिव कुमान सिँह गुरुङ लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरे । कार्यक्रममा बोल्दै उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योग तथा व्यवसाय सङ्कटको अवस्था रहेको बताए । देशमा उद्योग सञ्चालनको निश्चित विन्दु पहिचान गरेर अगाडि बढ्नुपर्ने व्यवसायीको भनाइमा सहमत भएको उनको भनाइ थियो । उद्योगलाई नै अगाडि नबढाई देश समृद्ध नबन्ने बताए । के गर्दा उद्योग व्यवसायलाई सहज हुन्छ समस्या मात्र नभएर समाधानको उपाए समेत बताउन उनको आग्रह छ । अहिलेको अवस्थाबाट माथि उठ्न सबैले आफ्नो ठाउँबाट कर्तव्य पुरा गर्नुपर्नेमा उनको जोड छ ।
उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमान सिँह गुरुङले पोखरा ३३ तथा शुक्लागण्डकी ९ मा पर्ने पुँडिटारमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रको डिपिआर तयार भएर काम अगाडि बढिसकेको बताए । त्यहाँ सरकारले ७२ करोड लगानी गर्नेछ । जग्गाप्राप्ति गर्नका लागि इआईएको प्रक्रियामा छ । एक दुई दिनमा सूचना निस्कने उनले जनाए । जग्गाप्राप्तिको काम सकिएपछि पूर्वाधार निर्माणको काम अगाडि बढ्ने उनले बताए । औद्योगिक क्षेत्र नियमावली ड्राफ्ट बनाइसकेको उनले खुलाए । अब उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रलाई कसरी चलाउने भनेर योजना बनाउनुपर्ने बताए । लोकाखोलाको काम पनि अगाडि बढेको र दुई-तीन जना व्यवसायी उद्योग सञ्चालन गर्छु भनेर सम्पर्कमा आएको समेत उनले खुलाए ।
कार्यक्रममा उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मा न्यौपानेले उद्योगको के हो किन आवश्यक छ भन्ने बारेमा नियमन गर्ने निकायमा बस्नेले थाहा पाउनुपर्ने बताए । कर्मचारीले उद्योगको बारेमा नबुझ्दा समस्या भएको उनले सुनाए । उद्योगी व्यवसायीको समस्या समयमा नबुझ्ने हो कुनै दिन उद्योग गरिदेउ भनेर भन्न पर्ने स्थिति आउनसक्ने औल्याए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका सल्लाहकार लक्ष्मी प्रसाद त्रिपाठीले भएका उद्योगलाई बचाउने र नयाँ उद्योग स्थापना गर्नका लागि के नीति अपनाउन सकिन्छ ध्यान दिनुपर्ने बेला आएको बताए । औद्योगिक क्षेत्र बाहिरका उद्योगहरूलाई अहिले समस्या पर्न थालेको उनको भनाइ थियो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख हिमालय भण्डारी, वरिष्ठ सौंन्दर्यविद् एवं गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी प्रालिकी सञ्चालक चिनु गुरुङ, गाजा बेकरी तथा बिस्कुट उद्योगका चानसिँह श्रीस, पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष रुद्रलाल श्रेष्ठ लगायतले बोलेका थिए । पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक ईश्वरी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शाखा अधिकृत सरिता शर्मा सुवेदी र सञ्चालन विष्णुदेवी पोखरेलले गरेकी थिइन् ।
उद्योग तथा पर्यटन मन्त्रालयका महाशाखा प्रमुख महराज ढकालले उद्योग सम्बन्धि प्रस्तुती राखेका थिए । पोखरा औधौगिक क्षेत्र व्यवस्थापन कार्यालय, पोखरा औद्यौगिक क्षेत्र उद्योग संघ र गण्डकी प्रदेश उद्योग परिसंघको सहकार्य र समन्वयमा कार्यक्रम भएको हो । दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम समेत आयोजना गरिएको थियो । “उद्मशील संस्कृति, राष्ट्रको समृद्धि” नाराका साथ दिवस मनाइएको हो ।