पोखरा । गरिमा विकास बैङ्कले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ६६ युनिट रगत सङ्कलन भएको छ । आफ्नो १८ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने क्रममा आज पोखराको क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

बैङ्कका पूर्वअध्यक्ष चन्द्रकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

 गरिमा विकास बैङ्कका क्षेत्रीय प्रमुख मेघबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका प्रमुख सूर्यबहादुर रानाभाटले गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको थियो । 

शाखाका प्रमुख रानाभाटका अनुसार गरिमा विकास बैङ्कको अहिले ९ लाख सेवाग्राही रहेका छन् । ५ दशमलव ६८ अर्ब चुक्का पूँजी रहेको छ । गरिमाका देशभर १ सय २४ शाखा, ५१ वटा एटिएम र सात वटै प्रदेशमा सेवा रहेको छ । बैङ्कमा आज शुक्रबारसम्म ८४ दशमलव ७५ अर्ब डिपोजिट र ७३ दशमलव ५० अर्ब लगानी रहेको रानाभाटले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैङ्कले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई एउटा ब्रेथलाइजर र एउटा रङ्गिन प्रिन्टर सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0