पोखरा ।  पोखरा महानगरपालिका २१ दोबिल्लाघाटमा १०८ धारासहितको शिव मन्दिरको शिलान्यास गरिएको छ । देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्मदेश्वर मन्दिर सन्यास आश्रमधामका पिठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराजले एक कार्यक्रमकाबीचमा मन्दिरको शिलान्यास गरेका हुन् ।

दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दिरको शिलान्यास गरिएको हो । उक्त घाटमा यस पहिले शवदाहस्थल व्यवस्थित गर्न मलामीको लागि विश्राम स्थल, अन्त्येष्टिका लागि आवश्यक दाउरा र दाउरा राख्ने गोदामघर निर्माण, वृक्षरोपण र तारबार लगाइएको थियो ।

मन्दिरको शिलान्यास गदै धर्मगुरु गिरीले सेती नदिको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए । उनले वैदिक, सनातनी र हिन्दूको संरक्षणका लागि पाठशाला सञ्चालन गर्न पनि सुझाव दिए ।

मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसभासद एवं उद्योगी कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र सम्बन्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्दिर निर्माणमा ५ लाख रुपैयाँ सहयोग गर्ने बचन पनि दिएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सिता विकले धार्मिक स्थलको रुपमा विकास गर्ने समितिको योजनमा साथ र सहयोग रहेको भन्दै जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन् ।

मन्दिर निर्माणका लागि पोखरा–२१ घर भइ हाल अमेरिका रहेका गोपाल रायमाझीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले यस पहिले पनि सोही स्थानको संरक्षण र विकासका लागि १ लाख ५९ हजार रुपैयाँ दिएको र थप ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।

यस्तै अमेरिका बस्ने बसन्त रायमाझीले २६ हजार ६ सय, अष्ट्रेलिया बस्ने सोनिया रायमाझीले ३५ हजार, टेकनाथ भण्डारीले २५ हजार, काठमाडौँ घर भइ हाल अमेरिकामा बस्ने सिता थापाले १३ हजार ३ सय आर्थिक सहयोग गरेको समितिका सल्लाहकार मोती गिरीले जानकारी दिए ।

यस्तै मन्दिर निर्माणका लागि गोप्य दान साथै आमा समूह, टोल विकास संस्था लगायतका सङ्घ संस्थाबाट समेत आर्थिक सहयोग प्राप्त भएको समितले जनाएको छ ।
कार्यक्रममा समितिका उपाध्यक्ष नेत्रलाल भण्डारीको स्वागत सचिव रमादेवी आचार्यले सञ्चालन गरेकी थिइन् ।

मन्दिर शिलान्यास पहिले सेती नदि पुलदेखि घाटसम्म बाजागाजासहित कलश यात्रा निकालिएको थियो ।  कलश यात्रामा आमासमूह र स्थानहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।
सेती नदीको कटानबाट बचेको एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने भएकाले स्थानीयको सक्रियतामा मन्दिर निर्माण थालिएको अध्यक्ष रायमाझीले बताए ।

उक्त क्षेत्रलाई गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए ।  मन्दिर, आवास भवन निर्माण गर्ने ठूली एकादशी र शिवरात्रिमा मेला लगाउने समितिको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0