काठमाडौँ । क्रिस कार्कीले काठमाण्डु गुर्खाजबाट मंसिर १५ गते देखि सुरु हुने सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । शनिबार वा डे क्रिकेट एकेडेमी काँडाघारीमा भएको अन्तिम छनोटबाट ‘लोकल आइकोनिक प्लेयर’ को रुपमा काठमाडौँ गुर्खाजमा स्थान पक्का गरेका हुन् ।
काठमाण्डु गुर्खाजले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) बालुवाटार, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) भक्तपुर र द ग्रेट हिमालय क्रिकेट एकेडेमी ललितपुरमा यसअघि तीन दिन प्रारम्भिक चरणको छनोट गरेको थियो । त्यसका लागि झन्डै ५ सय खेलाडीले दर्ता गरेका थिए । शनिबारको अन्तिम छनोटमा ३२ खेलाडी रहेका थिए ।
त्यसमध्येबाट उत्कृष्ट खेलाडी बन्दै क्रिस काठमाण्डु गोर्खाजको टोलीमा समेटिएका हुन् । एनपीएलको नियमअनुसार हरेक टोलीले आफ्नो प्रदेश अन्तर्गत रहेका एक खेलाडी लिनु पर्ने प्रावधान थियो । सोही अनुरूप क्रिस काठमाण्डु गुर्खाजको टोलीमा छनोट भएका हुन् ।
ट्यालेन्ट हन्टबाट काठमाण्डु गुर्खाजले विपिन न्यौपाने, असिम श्रेष्ठ, अथर्व पौडेल, शारदुल भट्ट, राजेन्द्र बम र कमल गुप्ता गरी अन्य ६ खेलाडी पनि लिएको छ । काठमान्डु गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाहीका अनुसार क्रिस बाहेक अन्य ६ टोलीले पनि टोलीसँगै बसेर प्रशिक्षण गर्नेछन् र उनीहरूलाई प्रोत्साहन स्वरुप जनही २५ हजार उपलब्ध गराइने छ ।
काठमाण्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी छन् । त्यसबाहेक टोलीले अक्सनबाट शाहव आलम, भिम सार्की, रशिद खान, शङ्कर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो ।
काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाण्डु गुर्खाजले विदेशी खेलाडीको रुपमा यसअघि नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इङ्ग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ ।