काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिई किसान र श्रमलाई सम्मान गर्नुपर्ने बताएकी छन् । उनले शिक्षाको मूल उद्देश्य मिहिनेत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउन निरन्तरता दिनु, सिकाइको प्रयोग गर्न, सिकाइ र यसको प्रयोगका लागि उत्प्रेरणा बढाउनु, समूहमा काम गर्न र श्रमलाई सम्मान गर्नु रहेको बताइन्।
मन्त्री भट्टराईले जाइका र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सञ्चालित स्ट्रेन्थेन एग्रिकल्चर एजुकेसन इन सेकेन्डरी स्कुल इन नेपालले आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा सो कुरा बताएकी हुन् ।
नेपालमा ६७ प्रतिशत जनता कृषिमा आश्रित रहेको, राष्ट्रिय आयमा कृषिको २४ प्रतिशत हिस्सा रहेको र २०५ विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवर्द्धनका लागि भएका कार्यको प्रशंसनीय भएको मन्त्री भट्टराईको भनाइ थियो । उनले विद्यार्थी देशका परिवर्तनकार्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न र खेत र बारीलाई कृषिको प्रयोगशाला बनाई कृषिकर्म र श्रमलाई सम्मान गर्न आह्वान गरिन् ।
समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपुरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम् विषयवस्तु समेट्नुपर्छ भन्दै भट्टराईले साना कामबाट ठूलो उन्नति गर्ने जापान र सबै विद्यार्थी सबै क्षेत्रमा सफल हुनुपर्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलिको बिचारको चर्चा गर्दै मन्त्री भट्टराईले विद्यार्थीलाई सिक्नका लागि उत्प्रेरित गर्नुपर्ने बताइन् । प्रोजेक्ट बेस र होम बेस प्रोजेक्ट मार्फत कृषिको आधुनिकीकरण हुन सक्ने भएकाले विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउन पनि आग्रह गरिन्।