पोखरा । जलवायु न्यायसम्बन्धी आवाज उठाउने दिन ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा पोखरामा सचेतनामूलक र्याली निकालिएको छ । पोखरा महानगरपालिका कार्यालयदेखि न्युरोड, विपीचोक, मानवअधिकार चोकसम्म शान्तिपूर्ण र्याली निकालिएको हो । सस्टेनेबिलिटी विक पोखरा विश्वविद्यालय तथा सस्टेनेबिलिटी विक आईओएफ पोखराको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगर युवा परिषद पोखरा महानगर, दिगो विकास, जिरो डिओप्टर, सेफ नेपाल, धौलागिरी विद्यार्थी मञ्च, पोखरा विश्वविद्यालय, एनवाइसिए पोखरा, युवा अभियान लगायतले समन्वय गरेका थिए ।
ठूला र विकसित देशहरूले अत्यधिक कार्बनडाइअक्साइड उत्सर्जन गरेपनि जलवायु परिवर्तन सम्बन्धी असर भने नेपाल तथा नेपाल जस्ता साना र कम कार्बन उत्सर्जन गर्ने देशहरूले भोगीरहेका छन् । नगर युवा परिषद पोखरा महानगरका उपाध्यक्ष सन्तोष न्यौपानेले कार्बन धेरै उत्सर्जन गर्ने मुलुकहरू अझैसम्म पनि नेपाल लगायत कम कार्वन उत्सर्जन गर्ने मुलुकहरूलाई त्यसको उचित क्षतिपूर्ति दिनुपर्ने विषयलाई बेवास्ता गरिरहेकोले बताउँदै त्यसको खबरदारीका लागि र्याली निकालिएको बताए । जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न र यससम्बन्धी सचेतना जगाउनका लागि र्यालीमा युवाहरूलाई समेटिएको उनको भनाई छ ।
अमेरिका, रुस, साउदी अरेबिया जस्ता विकसित देशमा सञ्चालित उद्योग कलकारखाना र मध्यपूर्वमा भइरहेको युद्धका कारण विश्वमा अत्यधिक कार्वन उत्सर्जन भइरहेको छ । जसका कारण विश्वको तापक्रम बढिरहेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा सहित हिमालहरू तीव्र गतिमा पग्लिदै गएको छ भने समुद्रको सतह दिनानुदिन बढिरहेको छ । विश्वमा कार्बनको अत्यधिक उत्सर्जनका कारण नेपालको वायु दिनप्रतिदिन प्रदूषित बनिरहेको छ । नेपालको पारिस्थितिक प्रणालीहरू समेत बिग्रदै गइरहेका छन् । आयोजक सस्टेनेबिलिटी विक पोखरा विश्वविद्यालयका कम्युनिकेसन हेड गोविन्द गौतमले जलवायु परिवर्तनको मुद्दामा नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको बताए ।
र्यालीमा पोखराका करिब ६० जना भन्दा बढी युवाहरूको उपस्थिति रहेको थियो । ग्लोबल डे अफ एक्सन जलवायु सम्बन्धी मुद्दालाई सशक्त रुपमा प्रस्तुत गर्ने एक विश्वव्यापी दिन हो । यसवर्षको ग्लोबल डे अफ एक्सन भविष्यका लागि मौसम तयार गरौँ भन्ने मूल नारासहित मनाइदै छ । पर्यावरण संरक्षणसम्बन्धी कार्य गर्ने व्यक्तिहरूको पहलमा सन् २००५ बाट विश्वव्यापी जलवायु अभियानका रुपमा ग्लोबल डे अफ एक्सन सुरु भएको हो ।