पोखरा । पोखरामा नेपाल-चीन फोटो प्रदर्शनीको आयोजना गरिएको छ । शनिबार पोखराको बाराहीघाट खेल मैदानमा आयोजना गरिएको प्रदर्शनीमा नेपाल तथा चीनका पर्यटकीय स्थल तथा संस्कृति झल्काउने तस्बिर राखिएको थियो । नेपालका तस्बिरको प्रदर्शनी फोटो पत्रकार संघ कास्कीले गरेको थियो भने चीनसँग सम्बन्धित तस्विर चाइना कल्चरल इन नेपाल र युनान प्रोभेन्सियल माउन्टिनियरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएसनले छुट्टाछुट्टै स्टल मार्फत प्रदर्शनीमा राखेका थिए । 

कुल तीनवटा स्टलमा १ सय ८० को हाराहारीका तस्बिर राखिएको थियो । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको अवसर पारेर आयोजना गरिएको प्रदर्शनीको आन्तरिक तथा बाह्य पर्यटकको अलावा पोखराका स्थानीय र खेल क्षेत्रका व्यक्तिहरूले अवलोकन गरे । 

चाइना कल्चरल इन नेपालबाट फोटो प्रदर्शनको लागि आएका शिरिष महर्जनले नेपालमा चीन के हो भनेर चीनको संस्कृति, चिनको भाषा, त्यहाँको रहनसहन देखाउने गरेको बताए । प्रदर्शनीमा वल्ड हेरिटेज इन चाइना भनेर युनेस्कोले लिस्टिङ गरेका ५९ वटा ठाउँको तस्विर प्रदर्शनमा राखिएको थियो । ती तस्बिरहरू चाइनाका विभिन्न फोटो ग्राफरले खिचेको उनले बताए । पोखरामा दोस्रो पटक यो प्रदर्शनीको आयोजना गरिएको हो । यस भन्दा अगाडि ड्रागन बोट फेस्टिभलमा समेत यो प्रदर्शनीको आयोजना भएको थियो । उनीहरूले काठमाण्डौमा होटलहरूमा कार्यक्रम गर्ने गरेका छन् । चाइनाबाट नेपाल आएर हुने कार्यक्रममा यो प्रदर्शनी राख्ने गरिएको महर्जनले बताए । नेपाल जस्तै चाइना पनि इतिहासले भरिपूर्ण देश भएको भन्दै भाषाका कारण चाइनामा के के छ भन्ने जान्न समस्या हुने भएकोले प्रदर्शनी प्रभावकारी हुने बताए । उनले सबै ठाँउ घुम्नुपर्छ भन्ने नहुने भन्दै फोटोबाट धेरै कुरा थाहा पाउन सकिने सुनाए । 

फोटो पत्रकार सङ्घ कास्कीको अध्यक्ष दुर्गा प्रसाद पौडेलले गण्डकी प्रदेश भित्र रहेका पर्यटकीय क्षेत्रहरू, संस्कृतिहरू र पर्यटन क्षेत्रका झण्डै ६० वटा फोटोहरू प्रदर्शनीमा राखिएको बताए । फोटो पत्रकार सङ्घ कास्कीमा आवद्ध सदस्यहरूले खिचेका तस्बिर कलेक्सन गरेर फोटो प्रदर्शन गरिएको हो । प्रत्येक वर्ष यो कार्यक्रममा फोटो प्रदर्शनी गर्ने गरेको उनको भनाइ थियो । पोखरा आसपासमा लुकेर रहेका क्षेत्रहरूलाई देश तथा विदेशका सबैमाझ पुर्‍याउनका लागि यहाँ रहेका सुन्दर ठाउँका तस्बिरहरू प्रदर्शनी गरिएको उनले खुलाए । प्रदर्शनीमा आउने सकारात्मक प्रतिक्रिया दिएको भन्दै आगामी दिनमा समेत यस्तो प्रदर्शनी आयोजना गरिने प्रतिवद्धता जनाए । यहाँका फोटो पत्रकारले सबै मौसममा खिचेका तस्बिर संकलन गरेर देखाइएको अध्यक्ष पौडेलको भनाइ थियो । 

युनान प्रोभेन्सियल माउन्टिनियरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएसनले राखेको प्रदर्शनीमा युनान प्रान्त, पर्वतीय खेल सामाग्री, खेल संस्कृति तथा परियोजनासँग सम्बन्धित विभिन्न तस्बिरहरू राखिएका थियो । “माउन्टेन्स मिट माउन्टेन्स पीपल आर क्लोज टु इच अदर” नाराका साथ भएको यो प्रदर्शनीमा नेपाल र चीनमा भएका विभिन्न खेलकुदलगायतका गतिविधि समेटिएका तस्बिर त्यहाँ देख्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0