पोखरा । पोखरा टेलिभिजन एन्ड मिडिया प्रा.लि. ले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सव सम्पन्न भएको छ । उत्सवमा भएको देउसी भैलो प्रतियोगितामा नेपाल मगर सङ्घ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, ब्राम्हण, क्षेत्री, गन्धर्व  समुदाय बिच भएको प्रतियोगितामा नेपाल मगर सङ्घ नयाँ बजारले उपाधि जितेको हो ।

च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, कलाकार तारापति सुवेदी, कलाकार सरला पाण्डे, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, कार्यक्रम संयोजक घनश्याम पाण्डेय लगायत च्याम्पियन अवार्ड, चेक, प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा सहभागी सबै समूहलाई  नगद ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल मगर सङ्घ इकाई समिति राम बजार, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, गण्डकी प्रदेश, क्षत्री समाज पोखरा महानगर समिति, गन्धर्व आमा समूह पोखरा १६ बाटुलेचौर, नेपाल मगर सङ्घ नयाँ बजार समिति पोखरा ८, सिद्धार्थ तमु समाज, पोखरा, गन्धर्व सारङ्गी संरक्षण पाठशाला, पोखरा २५ हेम्जाको समूहले आआफ्ना देउसी भैलो प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्‌घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले नेपालीहरूको संस्कृति संरक्षण यस्ता उत्सवले महत्त्वपूर्ण  भूमिका खेल्ने बताए । पर्यटनको लागि संस्कृति र प्रकृति महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । संस्कृति संरक्षणको लागि मन्त्रालयबाट पनि कार्यक्रम राख्ने गरेको बताए ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले संस्कृति संरक्षणको लागि सबै लाग्नुपर्ने बताए । उनले  डिजिटल प्लेट फर्ममा हुने हुँदा पछि सम्म पनि यसको महत्त्व हुने बताए । गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले सञ्चार माध्यमले समाचार मात्रै नभएर संस्कृति संरक्षणमा लाग्नु पर्ने बताइन् । उनले आगामी दिन खुला ठाउँमा प्रतियोगिता गर्न पनि सुझाव समेत दिइन् ।  नेपाल  पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले सञ्चार माध्यमले संस्कृति संरक्षणमा लाग्दा बढी प्रभावकारी बन्ने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान अध्यक्ष कृष्ण आचार्य, पृथ्वी होटेल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरे सहित विभिन्न सङ्घ संस्था प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा १५ देशका विदेशी पर्यटकहरू समेत सहभागी बनेको आयोजकको भनाइ छ । कार्यक्रम संयोजक घनश्याम पाण्डेयले सञ्चालन गरेको कार्यक्रम पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुको अध्यक्षतामा सम्पन् भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0