पोखरा । आफ्नो जन्मदिन सामाजिक कार्यमा जोडिएर मनाउँदै आएकी पोखरा २८ कि विष्णु सुवेदी भण्डारीले यसपालिको जन्मदिन राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेर मनाएकी छन् । जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गर्दै समाजमा सन्देश दिनको लागि यसपालि ३ हजार रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरेको उनले खुलाइन् ।

‘मेरो जन्मदिन कार्तिक ३ गते हो, जन्मदिनको अवसरमा एउटा न एउटा सामाजिक कार्यमा जोडिएर एउटा पृथक म्यासेज समाजमा दिनको लागि फजुल खर्च कटौती गरि महाबिर पुनको राष्ट्रिय आविश्कार केन्द्रको खातामा रु तीन हजार पठाए’ उनले भनिन् ।

सबैले फजुल खर्च कटौती गर्दै सहयोग गर्ने हो भने समाजमा सकारात्मक परिवर्तन आउने उनको विश्वास छ । देशमा सम्भावना नदेखेर युवा पलायन भएको समयमा एउटा सियो भएपनि स्वदेशमै बनोस् भन्ने धारणाले उनले सहयोग गरेकी हुन् ।

उनले यसअगाडिका जन्मदिन समेत कहिले वृद्ध आश्रम, कहिले ज्येष्ठ नागरिक सेवा केन्द्र त कहिले सामाजिक संघ संस्थालाई जति सकिन्छ सहयोग गरेर मनाउने गरेको बताइन् । ‘हरेक जन्मदिन सामाजिक कार्य गरेरै मनाउँथेँ, यो पटक आविश्कार केन्द्र बनाउने काममा ईट्टा थप्न मन गयो’ सामुदायिक सेवा एवं सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीको द्वितीय उपाध्यक्ष रहेकी सुवेदीले बताइन् ।

सबैले थोरै भएपनि सामाजिक पाटोमा अपनत्त्व लिनुपर्छ भन्ने शिक्षा दिने उद्देश्य आफ्नो रहेको उनको भनाइ छ । पछिल्लो समयमा जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्ने क्रम बढेको भन्दै त्यसलाई रोकेर सामाजिक कार्य गरेर जन्मदिन मनाउन प्रोत्साहित गर्नुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0