चितवन । दशैँ सकिए लगत्तै भरतपुर महानगरको पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरूले भत्काउन थालेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरूले भत्काइरहेका छन् । कामदारहरूले ट्रस्ट निकालेर ढलान फुटाउने काम गरी रहेका छन् ।

गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरूमा डोजर चलायो । महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो । महानगरले पुंगी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो । यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन प‌ु‌ंगी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।

भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लायन्स भवन लगायत अन्य भवनहरू क्रमश घरधनी आफैले भत्काउन सुरु गरेको जानकारी दिए । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफै संरचना भत्काउन अनुरोध गरिएको उनले बताए । घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उनको भनाई छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गरिन् । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ।

‘अहिले घरधनीहरूले मापदण्ड विपरितका संरचना आफै भत्काइ रहनु भएको छ’, उनले भनिन्,‘ यो खुसीको विषय हो । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ ।’
महानगरपालिकाले मापदण्ड विपरितका संरचना भत्काउने र सँग सँगै सौन्दर्यकरणको कार्य पनि अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0