पोखरा । क्षेत्री समाज नेपाल पोखरा– १६, ले धार्मिक विधि पूर्वक वडाभित्र रहेका शक्तिपीठमा कलश यात्रा सहित महाआरती गरेको छ । बाटुलेचौरमा रहेका चण्डीका, कालिका र अम्बिका मन्दिरमा विहीवार फूलपातीको दिन बिहान कलश यात्रा सहित शुभकामना आदान प्रदान, चियापान र साँझ महाआरती गरिएको समाजका निवर्तमान अध्यक्ष सन्दीप थापाले जानकारी दिए ।

विभिन्न जातजाति र समुदायको समन्वयमा चण्डीका मन्दिरबाट शुरु भएको कलश यात्रा गणेश मन्दिर, अम्बिका मन्दिर, राजँपधेरा हुँदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत भएको थियो । थापाका अनुसार कलश यात्रामा तमु, मगर, तामाङ, गन्धर्व सहित विभिन्न आठ वटा जातीय समुदाय र २० वटा सङ्घ, संस्था ब्यानर सहित आआफ्नो जातीय भेषभुषामा सहभागिता जनाएका थिए ।

कलश यात्रामा अर्मलाकोटले नौमति बाजा तथा शुक्ला भजन समुह, विश्व हिन्दु महासङ्घ, परोपकार महासङ्घले झाँकी सहित भजन चुड्का प्रस्तुत गरे । कलश यात्रा पछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, क्षत्री समाजका सल्लाहकार वेनीवहादुर बस्नेत, केन्द्रिय महिला समितिका कोषाध्यक्ष सिर्जना थापा, हिमालय क्लबका अध्यक्ष मोहन थापा, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समितिका अध्यक्ष दुर्गा केसी थापा, शुक्ला साहित्य प्रतिष्ठानका सदस्य रामप्रसाद पौडेल घर्मेली, राष्ट्रिय परोपकार महासङ्घका वडा अध्यक्ष होमनाथ पौडेल, आत्मज्ञान प्रचार सङ्घका दिपेन्द्र गौतम, हिमालय योग साधना केन्द्रका विना केसी लगायतले यस्ता कार्यक्रमले जातीय एकता र धार्मिक सदभाव बढाउने बताउँदै, सत्विचारले नै समाज असल बन्ने धारण राखे ।

कार्यक्रममा सहभागीले एक आपसमा शुभकामना आदान प्रदान समेत गरेका थिए । समाजले साँझ वैदिक विधि पूर्वक मन्दिर व्यवस्थापन समितिको समन्वयमा चण्डीका मन्दिरमा महाआरती गरेको छ । अष्टमीका दिन शुक्रवार साँझ कालिका मन्दिरमा महाआरती गरिने र विभिन्न समुदाय, आमा समुह तथा टोल विकास संस्थाले सहयोग गर्ने सचिव गोविन्द बहादुर थापाले बताए ।

यसअघि बाटुलेचौरमा रहेको हिमालय क्लबले घटस्थापनाको दिन देखि नै कालिका मन्दिरमा विभिन्न सङ्घ संस्थासँगको समन्वयमा बिहान दुर्गा पुजा र साँझ आरती गरिरहेको छ । समाजका सचिव गोविन्द बहादुर थापाले सञ्चालन गरेको कार्यक्रम कार्यवाहक अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0