पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । हालै उनीहरूलाई पूर्वसञ्चारमन्त्री उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे । २२ वर्ष सञ्चारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकारात्मक सोचले नै आफूमा परिवर्तन आउने उल्लेख गरे ।

“म करिब २२ वर्ष सञ्चार कर्ममा लागे । सञ्चार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकारात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकारात्मक सोचौं ।”, उनले भने । पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई र गराइमा फरकपन आयो भने समस्या हुने भनाई उनको छ ।

मिस पोखराका प्रतिस्पर्धीलाई उनले सामाजिक बन्न सुझाएका छन् । नेतृत्व विकासका लागि समाजलाई नजिकबाट पढ्न आवश्यक रहेको उनले बताए । “राजनीति गर्दिन त्यसैले राजनीति मन पर्दैन । व्यवसायमा चासो छैन त्यसैले यसको बारेमा जानकारी भएर के गर्नु ? भन्ने सोच पाल्नुभएन ।”, उनले भने ।

हरेक विषयवस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको उनले बताए । बोल्दा प्रस्तुतीकरणमा ख्याल गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका उनले समाज निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको र मिस पोखरा जस्ता कार्यक्रमले नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेमा विश्वस्त रहेको बताए । कात्तिक १० गते फाइनल हुन लागेको मिस पोखरामा १७ जना प्रतिस्पर्धी सहभागी छन् । उनीहरूलाई अहिले विभिन्न तालिम दिइएको पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माले जानकारी गराए । विभिन्न विधामा २१ दिनसम्म तालिम प्रदान गरि क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ अगाडि बढिरहेको भनाई उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0