पोखरा । आगामी कार्तिक २४ गते पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको व्यवस्थापक हिमालयन टुरिजम फोरमले दिएको जानकारी अनुसार प्रतियोगीलाई ४ समुहमा विभाजन गरेर प्रतिष्पर्धा गर्न लगाइनेछ ।

जस अनुसार टिम समूह दौडमा ३० मिश्रित टोलीहरूले सहभागिता जनाउने छन् । कम्तीमा एक विपरित लिङ्गको सदस्य सहित ९० खेलाडी हुनेछन । यसमा २० नेपाली र १० चिनियाँ टोलीहरू समावेश हुनेछन् । उनीहरूले ५० किलोमिटर ट्रेल दौड, साइक्लिङ, र रोइङको प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा  पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु ४ लाख ५८ हजार ४ सय, ३ लाख ४३ हजार ८ सय, २ लाख २९ हजार २ सय, १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।

 च्यालेन्ज इन्डिभिजुअल ग्रुप (महिला/पुरुष)मा १ सय २० नेपाली र ८० जना चिनियाँ गरेर दुई सयजना खेलाडीहरूको सहभागिता हुने छ । उनीहरूले ५० किलोमिटरको ट्रेल दौडमा सहभागि हुनेछन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १ लाख ५२ हजार ८ सय, १ लाख १४ हजार ६ सय, ७६ हजार ४ सय तथा चौथो देखि सातौँ सम्मका विजेताले क्रमश जनही नगद रु ३८ हजार २ सय, आठौँ देखि दशौं सम्मका विजेताले नगद रु १९ हजार १ सय पाउनेछन् ।

विद्यार्थी दौडमा पोखराका ५ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने आयोजकले जनाएको छ । उक्त दौड ५ किमिको हुने छ । विजेता खेलाडीहरूले क्रमश जनही नगद रु ३० हजार, २५ हजार र २० हजार तथा चौथो देखि छैटौँ सम्मका विजेताहरूले समान नगद रु १०–१० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।  मनोरञ्जनात्मक रमाइलो दौड २ किलोमिटरको हुनेछ ।

“साझा समृद्धिका लागि दौड” भन्ने उद्घोषका साथ प्रतियोगिता आयोजना हुन लागेको हो । खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्यका साथ आयोजित दौडमा नेपाल र चीनका धावकहरूको उत्साहजनक सहभागिता रहने भएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाली खेलाडीलाई निःशुल्क दर्ता गरिने व्यवस्था मिलाइने छ भने प्रतियोगितामा सहभागिता जनाउन २ सय भन्दा बढि चिनियाँ धावक पोखरा आउने छन् ।

हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशङ्कर पालिखेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी, महासचिव नेत्र पौडेल रमेश, मिडिया संयोजक ई.प्रतिकराज पहारी लगायतले बोलेका थिए ।

प्रतियोगितालाई भव्य बनाउन १५ वटा विभिन्न उपसमिति गठन गरेर तयारीमा तीव्रता दिन थालिएको आयोजकको भनाई छ । प्रतियोगिता सञ्चालन गर्न १ करोड ३६ लाख खर्च लाग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताले पोखरा तथा यस क्षेत्रको पर्यटन प्रर्वद्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पुर्‍याउने र नेपाल–चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउदै लैजाने विश्वास गरिएको अध्यक्ष पालिखेले बताए । नागरिकहरूलाई साझा समृद्धिको लागि प्रेरित गर्दै खेलकुदको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको प्रतियोगिता मूल आयोजक समितिका संयोजक समेत रहेका पालिखेले जनाए ।

 नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, र पोखरा महानगरपालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0