काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मङ्गलबार विषयगत समितिको बैठक सम्पन्न भएको छ । हालै आएको बाढी पहिरोबाट विद्यालय र शिक्षा क्षेत्रमा पुगेको क्षतिको जानकारी, तत्काल राहत तथा पुनर्स्थापना र भावी योजनाका बारेमा तीनै तहका सरकारबीच छलफल सहित क्षतिको लेखाजोखा र समन्वय कार्ययोजना योजना बनाउन बैठक आयोजना भएको हो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विपदमा सबै तहका सरकार र जिम्मेवार निकाय तथा व्यक्तिहरूले निस्वार्थ भावले मानवीय संवेदनशीलतालाई ख्याल राखी कार्य सम्पादन गर्न आग्रह गरिन् । भट्टराईले विद्यालयलाई विपत् व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम शीर्षकमा प्रति प्रदेश दुई करोडका दरले वित्तीय सहयोग हस्तान्तरण गरिएको, आपतकालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकामा छ लाख, उपमहानगरपालिका र नगरपालिकालाई ५ लाख र गाउँपालिकालाई ४ लाखका दरले बजेट व्यवस्थापन गरिएको उल्लेख गरिन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा प्रदेश सरकारहरूका शिक्षा हेर्ने मन्त्रालयका मन्त्री, मन्त्रालयका सचिव, बाढी प्रभावित स्थानीय तहका प्रमुख तथा शिक्षा शाखा प्रमुख, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, विभागीय प्रमुख, सहसचिव लगायतको सहभागिता थियो ।
बैठकमा जोखिम मूल्याङ्कन, शैक्षिक सामग्री व्यवस्थापन, अस्थायी सिकाइ केन्द्र निर्माण, खानेपानी, शौचालय र खेल मैदान व्यवस्थापन, मनोसामाजिक परामर्श तथा स्रोत व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो ।
