पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २४ औँ केन्द्रिय वार्षिक साधारण सभा एवं विधान अधिवेशन पोखरामा सुरु भएको छ । विविध सांस्कृतिक कार्यक्रम सहित आयोजित अधिवेशनको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्‌घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले लोक संस्कृतिको जगेर्ना र संरक्षण, सम्वर्द्धनमा कलाकारहरूको योगदान अतुलनीय रहेको बताए । उनले नेपाली मौलिकतालाई जोगाइराख्न जोड दिन समेत कलाकारसँग अनुरोध गरे।

सोही कार्यक्रममा स्व.लोकबहादुर क्षेत्री स्मृति सम्मानबाट कौडा सर्जक रेशम गुरुङ र स्व नारायण पाण्डे प्रतिभा पुरस्कारबाट शान्ता न्यौपानेलाई जनही नगद ११ हजार १ सय ११ सहित सम्मान अर्पण गरियो । पछिल्लो समयमा अष्ट्रेलियामा बस्दै आएका प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजीको निरन्तरको योगदानलाई कदर गर्दै संस्थाले २५ हजार रुपैयाँ सहित सम्मान गर्‍यो । वर्षभरीको कार्यकुशलता र सक्रियताको आधारमा कुशल बेल्बासे र सम्झना भण्डारी सम्मानित भए ।

कार्यक्रममा संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरू प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, निवर्तमान अध्यक्ष रमेश बिजी, गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा, कञ्चनपुर जिल्लाका अध्यक्ष लालबहादुर धामी (अछामी बड्डो), धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण थपलिया विवेक लगायतले बोलेका थिए ।

प्रतिष्ठानको अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा भएको उद्‌घाटन सत्रमा स्वागत बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा र सञ्चालन महासचिव शिव हमालले गरेका थिए । कार्यक्रमका  अतिथि र केन्द्रिय समितिलाई पुन समाजले खादा लगाएर स्वागत गरेको थियो भने तमु कलाकार सङ्घले पञ्चेबाजा बजाएर स्वागत गरेको थियो ।

पोखरा सभागृह हलमा आयोजित अधिवेशनमा प्रतिष्ठानका ६ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताइएको छ । केही महत्त्वपूर्ण निर्णय गर्ने गरि आयोजित साधारण सभा र विधान अधिवेशन शनिबार सम्म चल्ने अध्यक्ष थापा मगरले जानकारी दिइन् ।

प्रतिष्ठानले संस्थालाई थप मजबुत बनाउन विधानमा आवश्यक संशोधन, थपघट, कानुनी व्यवस्थाका विषयमा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, कानुनी सल्लाहकार सहितको छलफल अयरपानी सामुदायिक होमस्टे, फेदीखोला-१ स्याङ्जामा केही दिन अगाडि गरेको थियो । छलफलबाट गरिएको विधानमा संसोधन गर्नुपर्ने विषय बिहिबार पोखरामा बसेको केन्द्रीय समिति बैठकबाट पास भएको छ । अब सो विधान संसोधन सम्बन्धी प्रस्ताब बन्दसत्रमा पेश हुनेछ । त्यसमा घनिभूत छलफल गरेर निष्कर्षमा पुग्ने तयारी प्रतिष्ठानले गरेको जनाएको छ । बन्द सत्रको कार्यक्रम शनिबार बिहान ८ बजेबाट सुरु हुनेछ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको साधारण सभा र विधान अधिवेशनको सह-आयोजकको जिम्मेवारी प्रतिष्ठान गण्डकी प्रदेश समिति र स्थानीय व्यवस्थापनको जिम्मेवारी जिल्ला समिति कास्कीलाई दिइएको छ । कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, स्थानीय निकाय, जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको साथ प्रतिष्ठानले पाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0