पोखरा । ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिंजे नाँशामा घरवास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवम् पोखरा पर्यटन परिषद्को समन्वय गरेको कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै लाग्नुनपर्नेमा जोड दिए ।

 भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवर्द्धन गरिरहेको मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिंजे नाँशालाई रोजिएको बताइन् ।

रिंजे नाँशा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि वस्ती शुन्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रि‌ंजे नाँशामा घरवास कार्यक्रम सुरु गरिएको बताए।

 भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षता एवम् सचिव लक्ष्मण पहारीले सञ्चालन गरेको कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रन्जन कार्की, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाट लगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा त्यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिए ।

 ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको रिंजे नाँशाबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् । पर्यटन राजधानी पोखरा पेरीफेरीमा रहेको पोखरा महानगरपालिका वडा नं १६ स्थित रिंजे नाशा गाउँ यतिखेर घरवास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0