पोखरा । सुगम सङ्गीत र गजल मार्फत स्थापित बनेका गीतकार शिव पलाँसको शब्द रचनामा तयार भएको लोक गीत ‘खोकी लाग्दा हर्रो’ गीत यतिबेला चर्चामा रहेको छ ।
स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका १ मा जन्मेका गीतकार पलाँस हाल नर्थ क्यारोलाइना, अमेरिकामा छन् । सन्तोष रुचालले गाएको ‘बेहोसीमै छोडी गयौ’ गीत उनको पहिलो रेकर्डेड गीत थियो । ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ गीतले उहाँलाई गीतकारको छवि बनाइदियो । यसमा बीबी अनुरागीको सङ्गीत र शिशिर योगीको स्वर थियो । उनको ‘माया गर्नुको अर्थ’ गीत सङ्ग्रह समेत प्रकाशित भैसकेको छ ।
टिपिकल र ठेट शब्दको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ मा उनलाई लोकगीत मनपराउने दर्शक श्रोताको साथ मिलेको छ । अब दुईवटा लोकदोहोरी गीतमा काम गर्न लागेको मात्र नभएर छिट्टै भजन र पप गीत समेत पस्कन लागेको उनले खुलाएका छन् । आफूले टिम हेरेर काम गर्ने गरेको उनको भनाइ छ ।
समीक्षा अधिकारी र ईश्वर पोखरेल (अविरल)को आवाजमा रहेको ‘खोकी लाग्दा हर्रो’ गीतमा सङ्गीत प्रमोद पन्तले भरेका छन् । योगेश काजीले एरेन्ज गरेको गीत एसएमएस एचडी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । गीतको रेकर्डिङ र मिक्सिङको काम मनोज परियारले गरेका हुन् । कोरस आवाजमा रुपी सिञ्जाली, प्रतिमा विश्वकर्मा, मदन गुरुङ र सविन बिसीले साथ दिएका छन् ।
रमाइलो शैलीमा तयार भएको गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । भिडियोमा लोकप्रिय कलाकार प्रियङ्का कार्की र गम्भिर विष्टको अभिनय र नृत्य हेर्न पाइन्छ । भिडियोको निर्देशन अभिनेता विष्टले गरेका हुन् । अमृता रिजाल निर्माता रहेको गीतको भिडियोमा समावेश सिड्नीको फुटेज राजिव भुसालको हो । गीत ईश्वर पोखरेल युट्युब च्यानलबाट रिलिज गरिएको छ । यो समाचार तयार पार्दासम्म गीत २ लाख ६६ हजार भन्दा बढी दर्शकले गीत हेरिसकेका छन् ।
भिडियो