पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा उद्योग वाणिज्य सङ्घलाई आफ्नो ‘अघोषित संस्थागत सल्लाकार’ को रुपमा राख्ने उद्घोष गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घले उनको सम्मानमा बुधबार आयोजना गरेको बधाई ज्ञापन तथा स्वागत कार्यक्रमको उपक्रममा अध्यक्ष गोकर्ण कार्कीले उठाएका विषयहरू सुनेपछि उनले सो उद्घोष गरेका हुन्।

‘२०११ सालमा स्थापित पोखरा उद्योग वाणिज्य सङ्घले पर्यटनसहित पोखराको विकासमा ठूलो योगदान गरेको छ, सङ्घसँग भएको संस्थागत ज्ञानको उपयोग हुनुपर्छ,’ मन्त्री पाण्डेले भने, ‘पर्यटकीय राजधानीमा रहेको यो सङ्घलाई म मेरो अघोषित सल्लाहकारको रुपमा लिन्छु ।’

त्यसअघि सङ्घका अध्यक्ष गोकर्ण कार्कीले १० बुँदामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्ने कामको बारे मन्त्रीसमक्ष जानकारी गराएका थिए । अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घकै पहल र नेतृत्वमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता पहिलो सरोकारको विषय भएको बताए । राजमार्गहरूको स्तरोन्नतिको गति ढिला हुँदा यहाँको पर्यटन उद्योगलाई प्रत्यक्ष असर परेको भन्दै राजमार्गको स्तरोन्नति निर्माणको गति बढाउन पर्यटन मन्त्रालयले समन्वयकारी भूमिका निभाओस् भन्ने आफूहरूको माग रहेको अध्यक्ष कार्कीको भनाइ थियो ।

उनले मोटरबाटोका कारण पदयात्रा मार्ग नासिँदाको असर कम गर्न नयाँ पदयात्रा मार्गको खोजी, साहसिक, धार्मिक र खेल पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा पर्यटन मन्त्रालयले प्याकेजमै कार्यक्रम ल्याउनुपर्ने माग गरे ।यसैगरी गण्डकीमा रहेका संरक्षित क्षेत्र (अन्नपूर्ण र मनास्लु) क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरूका निम्ति पालिकाहरूले थप दस्तुर लगाउने काम भइरहेको भन्दै पालिकाहरूले आफ्नो अधिकार प्रयोग गर्दा पर्यटकमाथि थप व्ययभार पर्ने र उनीहरु अन्यत्र मोडिने खतरा औँल्याए ।सडक सञ्जालमा जोडिइसकेको उपल्लो मुस्ताङ क्षेत्र प्रवेशको लागि विदेशीसँग लिइँदै आएको ५ सय डलर शुल्कमा पुनर्विचार तथा त्रिवेणी–कोरोला नाका सञ्चालन एवं सोही मार्ग हुँदै मानसरोवरसम्म धार्मिक यात्राको निम्ति पर्यटन मन्त्रालयबाटै पहलकदमी हुनुपर्ने बताए ।

सर्वोच्च अदालतको फैसला अनुसार पोखराका तालहरूको संरक्षणका निम्ति आवश्यक पर्ने बजेटका निम्ति पर्यटन मन्त्रालयले विशेष पहल–कदमी लिनुपर्नेमा उनले जोड दिए । पर्यटकको बसाइ लम्ब्याउन पूर्वाधारमा लगानी हुनुपर्ने भन्दै ग्रामीण क्षेत्रमा होटल, रिसोर्ट खोल्दा कम्तिमा ५ वर्षको निम्ति कर तथा शुल्कहरुमा छुटको व्यवस्थाको माग गरे ।

पोखरा पर्यटकीय राजधानी घोषणा भइसके पनि यहाँ पर्यटकीय राजधानीमा पर्यटकले सम्झनास्वरुप लैजान मिल्ने सामग्रीसहितको कोेसेली घर नभएको र यही आवश्यकता मनन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घले एउटा मौलिक र भव्य कोसेली घर निर्माणको अभियान थालनी गरेको जानकारी गराउँदै कोसेली घरको भौतिक निर्माणमा पर्यटन मन्त्रालयको तर्फबाट आवश्यक बजेटको विनियोजनको लागि अनुरोध गरे । यसका साथै प्रवर्द्धनको जिम्मेवारी पाएको तथा निजी क्षेत्रसमेतको संलग्नता रहने नेपाल पर्यटन बोर्डमा पर्यटनको राजधानी पोखराको प्रतिनिधित्व नहुनु दुःखको कुरा हुने भन्दै नेपाल पर्यटन बोर्डमा पोखराको प्रतिनिधित्व सुनिश्चितता हुनुपर्ने माग गरे।

पर्यटन उद्योगका लागि आवश्यक पर्ने तथा पर्यटकले उपयोग गर्ने बस्तुहरु उत्पादनलाई प्रोत्साहित गर्न, गण्डकी र समग्र देशको मौलिक संस्कृति संरक्षणको लागि मन्त्रालयले विशेष प्याकेज घोषणा गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संजाल भएको उद्योग वाणिज्य सङ्घलाई प्रवर्द्धनात्मक गतिविधिको जिम्मेवारी प्रदान गर्ने ब्यवस्थाका लागि समेत उनले मन्त्री समक्ष माग गरे ।

सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद ज्ञापन र महासचिव शोभा गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0