पोखरा । नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले औद्योगिक वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउँदै एक पालिका एक औद्योगिक ग्रामको अभियानलाई अघि बढाउनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेश र जिल्ला कमिटीले पोखरा उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कोभिडका कारण प्रभावित अर्थतन्त्रमा पछिल्लो समयमा सकारात्मक सूचकहरू देखिएको बताउँदै उनले अर्थतन्त्र केही चलायमान भएको बताए । मुलुकको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी उद्योग व्यवसायीको काँधमा रहेको पूर्व मन्त्री समेत रहेका गुरुङको भनाइ छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारी तथा सदस्यलाई कार्य सफलताको शुभकामना व्यक्त गर्दै सम्मान गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले तत्कालीन पञ्चायती व्यवस्थाका समयमा पनि शासकहरूले पोखरा उद्योग वाणिज्य सङ्घले के भन्छ भनेर डराउने अवस्था रहेको बताउँदै त्यो गरिमालाई जोगाउनु जरुरी रहेको बताए। व्यवसायिक हितका लागि सङ्घ क्रियाशील बन्नुपर्ने उनले बताए ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवम् बरिष्ठ पर्यटन व्यवसायी बोबरजंग गुरुङले सङ्कटमा परेको उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानका लागि साझा अवधारणाका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याए । कोरोना कहर पछि पर्यटन सहितका व्यवसायहरू सङ्कटग्रस्त नै रहेको बताउँदै उनले धेरै व्यवसायीहरू पलायन भएको बताए। सरकारको व्यवसायमैत्री नीति आवश्यक रहेको बताउँदै उनले व्यवसायहरू सङ्कटमा नै रहेको विद्यमान अवस्थामा गण्डकी प्रदेश सरकारले यस अघि सञ्चालन गरेको व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिनु आवश्यक भएको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई सबैको सहकार्यमा समाधान गरेर बढ्ने कुरामा लाग्ने विश्वास व्यक्त गरे । सबै व्यवसायीलाई समेटेर अघि बढ्ने उनले बताए ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षता एवम् सचिव धर्ममान सिंह भण्डारीले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, नेपाल उद्योग तथा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य उमराज बास्तोला, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतम, सदस्य ललितबहादुर कुँवर लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0