पोखरा। पोखरामा शनिबार विश्व अल्जाईमर दिवस सचेतना कार्यक्रम गरेर मनाइएकाे छ । कार्यक्रमका श्रोत व्यक्ति डा. देवेशचन्द्र घिमिरेले यो बिर्सने रोगको तथ्याङ्क नेपालमा विश्वसनीय नरहे पनि संयुक्त राज्य अमेरिकामा यो रोग डरलाग्दो ढङ्गले बढेको बताए । पोखरा वृद्धाश्रमको आयोजना तथा मणिपाल शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा.घिमिरेको अनुशिक्षण कार्यक्रम अत्यन्त उपयोगी रहेको सुनाए । अल्जाईमर रोगको जानकारी, बढ्न नदिने उपाय बारे पोखरा वृद्धाश्रम र दिवासेवाका स्याहारकर्तालाई प्रशिक्षण दिइएको हो ।
गण्डकी प्रदेश र पोखराका ज्येष्ठ नागरिकसँग सरोकार राख्ने सङ्घसंस्थाहरू साथै चिकित्सक, नर्स, स्वयम् ज्येष्ठ नागरिकहरू सम्मिलित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ केन्द्रीय समितिका सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले अल्जाईमर रोगको न्यूनिकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नु पर्ने बताएका थिए । सचिव पराजुलीले सामाजिक विकास कार्यालय कास्की र सङ्घले मिलेर काम गरि रहेकोले प्रदेश र स्थानीय तहमा पनि सरकारले मिलेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा ज्येष्ठ नागरिक भएर पनि अहिले सम्म उत्पादनमा जोडिएको र सक्रिय रहेसम्म समाजलाई योगदान दिन पछि नपर्ने कुरा गण्डकी ज्येष्ठ नागरिक सङ्घका उपाध्यक्ष धर्म बहादुर गुरुङले बताए । मणिपालमा अध्ययनरत विद्यार्थी विशेष श्रेष्ठ र उनको टिम, शुक्लेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अलकापुरका अध्यक्ष विष्णुहरि सापकोटा, पूर्व शिक्षक बुद्धि गिरी लगायतका महानुभावहरूले रोट्रयाक संस्था मार्फत जनचेतना जगाउने नाटक समेत मञ्चन गरेका थिए ।
यसै गरी राष्ट्रिय ज्येष्ठ नागरिक सङ्घका सदस्यहरूले अल्जाईमर दिवसको महत्वबारे प्रकाश पारेका थिए । पोखरा बृद्धाश्रममा सम्पन्न सचेतना कार्यक्रममा आश्रमका कोषाध्यक्ष भीम प्रसाद सवेदी, अलकापुर ज्येष्ठ नागरिक दिवासेवाका अध्यक्ष ढकाल, कार्यक्रमका सदस्य सिद्धीकुमार रेग्मी, थेरापिष्ट शान्ता अधिकारी लगायतका बिज्ञहरुले अल्जाईमरका समस्या र तिनको स्याहार बारेमा प्रकाश पारेका थिए ।