पोखरा । कास्की जिल्ला सुटिङ सङ्घको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । सङ्घको छैटौँ साधारण सभा तथा तेश्रो अधिवेशनले सङ्घको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा राम नारायण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा राम कुमार श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा विनोद प्रसाद श्रेष्ठ निर्वाचित भएका छन ।
सङ्घको सदस्यहरूमा विजय कार्की, चिन्तामणि बास्तोला, प्रकाश बज्राचार्य र गृमा उदास निर्वाचित भएका छन । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा निर्वाचन संयोजक रहेको समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष केशव बहादुर थापाले राज्यले खेलकुद क्षेत्रलाई हेला गर्ने गरेको बताए । बजेट निर्माणमा जति बजेट समेट्नुपर्ने हो त्यो हुन नसकेको र बजेट दिएपनि केन्द्रमा मात्र सीमित हुने गरेको बताए ।
खेललाई विद्यामा राख्ने तर खेलमा आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन नसकेको उनको भनाइ रहेको थियो । सुटिङ खेलमा विभागीय बाहेक अन्य सङ्घ संस्था वा प्रदेशले खेल्न सामाग्रीको अभाव झेल्नुपरेको बताउँदै थापाले खेलाडीहरूलाई सहभागिता गराउनका लागि आवश्यक पूर्वाधार र खेल सामाग्री आवश्यक रहने भएकाले त्यसका बारेमा प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश सुटिङ सङ्घका महासचिव पुरन कुँवरले राष्ट्रिय खेलकुद परिषदले समेत प्राथमिकतामा नराखेको र खेलाडीलाई आवश्यक पर्ने खेल मैदान, खेल सामाग्रीहरू नरहेको बताए । सुटिङ विशेष खेल भएको र गाउँपालिकामा राख्न नसकिने सामाग्रीहरू केही मात्रामा दिएको भएतापनि त्यो पर्याप्त नरहेको बताउँदै कास्की र प्रदेश मिलेर मैदान निर्माण गरी राष्ट्रिय खेलमा सहभागिता जनाउने बताए ।
कास्की जिल्ला सुटिङ सङ्घका प्रशिक्षक तथा सल्लाहकार चिन बहादुर थापाले कास्की सुटिङ सङ्घमा आवद्ध भएर आइरहँदा नवौँ राष्ट्रिय खेलकुदमा प्रशिक्षकको भूमिकामा रहेको बताउँदै खेलकुद विकास समितिले सुटिङ खेलका लागि आवश्यक पर्ने हतियारका लागि लाइसेन्सको काममा झमेला रहेको बताउँदै साधारण मानिस र खेलाडीले लिने लाइसेन्सको बारेमा वर्गीकरण गरी लाइसेन्सको लागि सहजीकरण गरिदिन आग्रह गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले खेल क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताए । गण्डकीमा सुटिङ खेलको सम्भावना रहेको भएतापनि खेल मैदान र खेल सामाग्रीको अभावका बावजुद पनि खेलाडीले पदक ल्याउन सफल भएको उनको भनाइ रहेको थियो ।
श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुक बहादुर गुरुङले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रामकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सङ्घका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।