पोखरा । समन्वय बिना रूखहरू काटिएको भन्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गुनासो गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सडक किनाराका रूख काटिएको विषयमा विद्युत प्राधिकरणका हाकिमलाई प्रश्न गरेका छन् ।
“ग्रीन पोखरा, क्लिन पोखरा” परियोजना मार्फत २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य राखिएको बेला धेरै वर्ष लगाएर हुर्केका सडक किनाराका रूखहरू बिना समन्वय निर्ममतापूर्वक काटिएको विषयमा उनले गुनासो गरेका छन् ।
उनी लेख्छन् -“पोखरामा हामीले “ग्रीन पोखरा, क्लिन पोखरा” परियोजना सुरु गरेका छौँ, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा विज्ञहरूको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौँ। तर, धेरै वर्ष लगाएर हुर्केका सडक किनाराका रूखहरू बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ। बिद्युत् प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहन्छु यस्तो अधिकार कसले दियो हाकिम साब?”
मेयर आचार्यले सहरलाई हरियाली सहर बनाउन सक्रिय सहभागी बन्न आग्रह गर्दै सडक किनाराका बिरुवा बिना अनुमति काट्न खोजिएको देखिएमा खबर गर्न नगरवासीलाई अनुरोध समेत गरेका छन् ।
“अब सडक किनाराका बिरुवा बिना अनुमति काट्न खोजिएको देखिएमा महानगरको हटलाइन ११८१ वा नगर प्रहरीको सम्पर्क नम्बर ९८४६०४०७५१ मा खबर गरिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गर्दछु। हाम्रो सहरलाई हरियाली सहर बनाउन सक्रिय सहभागी बनौँ।” उनको आग्रह छ ।