पोखरा । विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको आयोजनामा नवौँ विश्वकर्मा भलिबल कप २०८३ सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको वडा स्तरीय खुला भलिबल
प्रतियोगिताको गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै सभामुख धितालले खेलकुदले मानिसको जीवनलाई स्वस्थ, सरल र अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलकुद तथा खेलकुद आयोजकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै विश्वकर्मा पूजाको अवसरमा आयोजित प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै सामाजिक एकता र सद्भाव अभिवृद्धिमा योगदान पुर्‍याउने बताए।

गण्डकी प्रदेश सभाकी सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालले खेलकुद स्वास्थ्य निर्माण, व्यक्तित्व विकास तथा देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताइन् । उनले खेलकुदको विकासका लागि निरन्तर लगानी र प्रोत्साहन आवश्यक रहेको उल्लेख गरिन् ।

गण्डकी प्रदेश सभा सदस्य नन्दकला नेपालीले यस्ता प्रतियोगितामा महिला खेलाडीको सहभागिता बढाउनुपर्ने बताइन्। उनले आगामी दिनमा महिला खेलाडीको सहभागितालाई समेत प्राथमिकता दिन आयोजकलाई सुझाव दिइन् ।

कार्यक्रममा विश्वकर्मा समाज नेपालका संस्थापक अध्यक्षले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै पश्चिमाञ्चल क्षेत्रमा विश्वकर्मा समाज नेपाल पुरानो तथा ज्येष्ठ सामाजिक संस्थाका रूपमा स्थापित रहेको बताए । उनले संस्थाको गरिमा र पहिचान कायम राख्दै नयाँ नेतृत्वलाई संस्थाको उद्देश्यअनुसार अघि बढ्न सुझाव दिए।

कार्यक्रममा समाजका उपाध्यक्ष बाबुलाल घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समाजका अध्यक्ष बेलबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तथा प्रवक्ता शरणसिंह विश्वकर्माले गरेका थिए ।

विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न वडा तथा क्लबका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो खेलमा पोखरा–१६ र फलेबास–७ बीच प्रतिस्पर्धा भएकोमा पोखरा–७ विजयी भएको छ। दोस्रो खेलमा दाजुभाइ क्लब गल्याङ र पोखरा–१३ बीच भएको प्रतिस्पर्धामा दाजुभाइ क्लब गल्याङ विजयी भएको छ।

वर्षाका कारण आजका अन्य खेलहरू भने स्थगित भएका छन्। स्थगित खेलहरू असोज २ गते बिहान ८ बजेदेखि पुनः सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको समापन असोज ३ गते गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0