पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ ‘रोजी’ र सहसचिवमा बालकुमारी पौडेल ‘तारा’ चयन भएका छन्। त्यस्तै सदस्यमा संजय थापा र बसन्त गिरी चयन भएका छन्।
यसअघि साधारणसभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले गरेका थिए। साधारणसभाको उद्घाटन सत्रमा क्लबका सचिव गौरव त्रिपाठी र कोषाध्यक्ष राजु गिरीले प्रस्तुत गरेका प्रतिवेदनमाथि बन्द सत्रमा व्यापक छलफल गरी पारित गरिएको थियो।
क्लबले यसअघि साउन २५ गते बसेको बैठकबाट भदौ १३ गते अधिवेशन गर्ने निर्णय गरेको थियो। तर, भदौ १० गते रसुवामा आएको बाढीका कारण देश विपत्तिमा परेकाले तामझामका साथ कार्यक्रम गर्न उपयुक्त नहुने भन्दै अधिवेशन तथा साधारणसभा सामान्य रूपमा सम्पन्न गरिएको नवनिर्वाचित अध्यक्ष एकराज गिरीले बताए।
‘देश शोकमा रहेका बेला तामझामका साथ कार्यक्रम गर्न उचित ठानेनौँ। त्यसैले सामान्य रूपमा अधिवेशन र साधारणसभा सम्पन्न गरेका हौँ,’ उनले भने।
अध्यक्ष गिरीले आगामी दिनमा क्लबलाई उद्देश्यअनुरूप थप सक्रिय बनाउँदै रचनात्मक तथा पत्रकारितामैत्री कार्यक्रम सञ्चालन गर्ने बताए। पत्रकारको पेशागत क्षमता अभिवृद्धि, पत्रकारिताको विकास तथा सञ्चार क्षेत्रसँग सम्बन्धित गतिविधिलाई प्राथमिकतामा राखिने उनको भनाइ छ।
२०७९ सालमा स्थापना भएको प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ राशिको प्रेस क्लब पत्रकारिता पुरस्कारसमेत प्रदान गर्दै आएको छ। क्लबले २०८१ सालमा पहिलो पुरस्कार पोखराका अग्रज फोटो पत्रकार कृष्णमणि बराललाई प्रदान गरेको थियो।
यस वर्ष २०८२ र २०८३ सालका दुवै वर्षको पुरस्कार प्रदान गरिने अध्यक्ष गिरीले जानकारी दिए। पुरस्कारका लागि छुट्टै दाता नभएकाले क्लबले विभिन्न कार्यक्रम सञ्चालन गरी खर्च कटाएर रकम जम्मा गर्दै पुरस्कार प्रदान गर्दै आएको उनले बताए।
‘गत वर्ष विभिन्न कारणले पुरस्कार प्रदान गर्न सकेनौँ। त्यसैले २०८२ र २०८३ सालको दुवै वर्षको पुरस्कार यस वर्ष वितरण गर्ने तयारी गरेका छौँ,’ अध्यक्ष गिरीले भने।
नवनिर्वाचित सचिव प्रकाशचन्द्र अधिकारीले प्रेस क्लब गण्डकीलाई सबै पत्रकारको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। पत्रकारिताको विकाससँगै पत्रकारको पेशागत हित र अधिकारका पक्षमा क्लबले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए।















