पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायीलाई समेटेर संघलाई विधानअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताए।
पत्रकारले यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्ष पदमा उम्मेदवार बन्नुको आधारबारे प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक रहेको बताए । उनले आफू २०४१ सालदेखि निरन्तर व्यवसायमा संलग्न रहेको र विभिन्न सामाजिक संस्थामार्फत समेत काम गर्दै आएको उल्लेख गरे। लामो व्यावसायिक तथा संस्थागत अनुभवका आधारमा व्यवसायीले भोगिरहेका समस्या र त्यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भूमिका संघले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
यसअघि आफू प्यानलमा रहेर निर्वाचनमा सहभागी भए पनि अहिले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको प्रसंगमा उनले नेतृत्वमा पुगेपछि सबैलाई साथमा लिएर अघि बढ्ने स्पष्ट पारे।
बुद्धाचार्यले पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षका रूपमा बिताएका दुई वर्ष आफूले जिम्मेवारी पूर्वक पूरा गरेका सुनाए । उक्त अवधिमा आफूले जिम्मेवारी अनुसार काम गरेको उल्लेख गर्दै उनले संस्थाको नेतृत्व व्यक्तिभन्दा पनि विधान र संस्थागत प्रणाली अनुसार हुनुपर्नेमा जोड दिए।
बुद्धाचार्यले संघलाई व्यवसायीको साझा आवाज, भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए । उनले संघ, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै उद्योग व्यवसायमैत्री नीति निर्माणका लागि पहल गर्ने बताए ।
उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायीका दैनिक समस्या समाधानदेखि प्रविधि, बजार विस्तार, पर्यटन, लगानी र स्थानीय उत्पादन प्रवर्द्धनसम्मका १७ बुँदा समेटिएका छन्।प्रतिबद्धतामा व्यवसायीका लागि एकद्वार सहायता केन्द्र तथा विशेषज्ञ सहायता टिम, व्यवसायिक डेटा बैंक, व्यवसायमा डिजिटल प्रविधि तथा एआईको प्रयोग, युवा, महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्द्धनलगायतका विषय समेटिएका छन्।
त्यस्तै, स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न लोकल टु ग्लोबल अभियान तथा पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिद बढाउन बाइ पोखरा अभियान सञ्चालन गर्ने योजना उनले अघि सारेका छन् । व्यवसायीको मौज्दात व्यवस्थापन तथा बिक्रीमा सहयोग पुर्याउन मिड इयर सेल, व्यवसायीको सीप तथा क्षमता विकास, पर्यटन तथा लगानी प्रवर्द्धन, खेल पर्यटन र ग्रेटर पोखाराको अवधारणालाई समेत प्राथमिकतामा राखिएको छ।
‘व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धि’लाई मूल ध्येय बनाउँदै संघलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने बुद्धाचार्यले प्रतिबद्धता जनाएका छन्। पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ । अध्यक्षमा बुद्धाचार्य सहित अर्जुन पोखरेल, शोभा गौतम र बलराम आचार्यको उम्मेदवारी रहेको छ । पत्रकार सम्मेलनमा सहजिकरण विश्वमोहन अधिकारीले गरेका थिए ।















