पोखरा । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट पोखरा–२३ ठूलाखेतका ७ सय ५० जना लाभान्वित भएका छन् ।
हरेक दुई वर्षमा आयोजना गर्दै आएको स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूलाखेतस्थित श्री सिद्ध बराह उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आइतबार सम्पन्न भएको हो । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा प्रसूति तथा स्त्री रोग, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान तथा घाँटी रोगको परीक्षणसहित प्रयोगशाला, ईसीजी र भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
कार्यक्रम संयोजक तथा रेवान पोखराका सचिव भीष्मराज पौडेलका अनुसार शिविर सफल बनाउन पोखरा महानगरपालिका वडा नम्बर २३ कार्यालय, सिद्ध बराह उच्च माध्यमिक विद्यालय, क्लिनिक नेपाल, रेभाना हस्पिटल लेकसाइड, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) तथा भरतपुर महानगरपालिका–२७ मेघौलीबाट सहयोग प्राप्त भएको थियो । सहयोगी संस्थालाई कार्यक्रममा सम्मानपत्र प्रदान गरिएको थियो ।
आफ्नै वडामा बृहत् स्वास्थ्य शिविर आयोजना भएपछि स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको वडाध्यक्ष रामकाजी गुरुङले बताए । शिविरमा अधिकतम स्थानीयको सहभागिता गराउन वडाले विभिन्न समिति तथा उपसमिति गठन गरी प्रचारप्रसार गरेको उनले जानकारी दिए ।
स्थानीयलाई शिविरसम्म आउन सहज होस् भनेर वडाका विभिन्न स्थानबाट यातायातको समेत व्यवस्था गरिएको उनले बताए । कार्यक्रममा शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
वडाध्यक्ष गुरुङले आगामी दुई वर्षभित्र पोखरा–२३ लाई पोखराकै ‘स्विट्जरल्यान्ड’ बनाउने दाबीसमेत गरे । उनका अनुसार हल्लनचोकदेखि पञ्चासेसम्म करिब ४ अर्ब रुपैयाँ बराबरका योजना परेको छ । अन्य सडक निर्माण तथा पूर्वाधारका लागि पनि एसियाली विकास बैंक (एडीबी) बाट सहयोग प्राप्त भएको उनले बताए । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाका महत्वपूर्ण योजनामध्ये केही योजना वडा नम्बर २३ मा परेको र केही कार्यक्रम सुरु भइसकेको उनको भनाइ छ ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षमा पनि सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त भए कार्यक्रमलाई निरन्तरता दिने बताए । रेवानले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक दुई वर्षमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको उनले जानकारी दिए ।
फेवातालको सिरान क्षेत्रको छुट्टै महत्व रहेकाले यसपटक स्वास्थ्य शिविरका लागि ठूलाखेत क्षेत्र छनोट गरिएको अध्यक्ष पौडेलले बताए । सडक सञ्जालबाट केही टाढा रहेका नागरिकलाई लक्षित गरी सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको रेवान पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले शिविरबाट ठूलो संख्यामा स्थानीयले स्वास्थ्य सेवा लिन पाउनु उदाहरणीय काम भएको उल्लेख गरे ।
रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले सञ्चालन गरेको कार्यक्रममा रेवानका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईलगायतले पोखरा–२३ र २४ पर्यटकीय, धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको बताए । यी क्षेत्रमा पर्यटन विकासका लागि रेवानले स्थानीयसँग सहकार्य गर्ने उनीहरूको भनाइ थियो ।
स्वास्थ्य शिविरमा सहभागी स्थानीयवासीले आफ्नै ठाउँमा विशेषज्ञसहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन हुँदा स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन सहज भएको भन्दै खुसी व्यक्त गरेका थिए ।















