पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले नेपाली तीज संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि प्रदेशस्तरीय खुला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ। “तीजको बेला सिटीवानको सांस्कृतिक मेला, प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३” नाम दिइएको प्रतियोगिता भदौ २३ र २४ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभागृहमा आयोजना हुने भएको हो। कार्यक्रम बिहान ९ बजेदेखि सञ्चालन हुने कार्यक्रम संयोजक शुष्मा थापा पाण्डेले जानकारी दिइन्। कार्यक्रमको तयारी तीव्र पारिएको उनको भनाइ छ ।

सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समय डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै नेपाली मौलिक संस्कृतिका कतिपय पक्षहरू लोप हुँदै गएको भन्दै संस्कृति संरक्षणमा टेलिभिजनले निरन्तर काम गर्ने बताइन्।

उनका अनुसार विशुद्ध नेपाली तीजका गीत, परम्परा र परिवेशलाई प्राथमिकता दिँदै तीजलाई मौलिक रूपमा मनाउने वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा करिब ६० समूहको सहभागिता रहने आयोजकको अनुमान छ। प्रतियोगितामा समाज परिवर्तनमा महिलाको भूमिका, महिला हिंसा, पर्यटन प्रवद्र्धन, सरसफाइ, बीमा तथा वैदेशिक रोजगार, उद्यमशीलता, शिक्षाको महत्व, स्थानीय सरकार, लागुऔषध दुर्व्यसन, खानेपानी तथा ऊर्जा, बैंक तथा वित्तीय सचेतना र स्वास्थ्य सचेतनालगायत समसामयिक तथा सामाजिक विषयलाई प्राथमिकता दिइनेछ।

प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभूषा र उत्कृष्ट शब्दका लागि पाँचरपाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतीले तीज संस्कृति पछिल्लो समय मौलिक स्वरूपबाट टाढिँदै गएको भन्दै त्यसको संरक्षण र पुस्तान्तरणका लागि मेला आयोजना गरिएको बताए। उनले सिटीवान टेलिभिजन स्थापनाको मुख्य उद्देश्य राजनीतिभन्दा माथि उठेर समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि सहकार्य गर्नु रहेको बताए।
मेलाको अवसरमा ‘तीज संस्कृति र आजको आवश्यकता’ विषयमा प्रदेशस्तरीय राउण्ड टेबल कार्यक्रमसमेत आयोजना गरिने उनले जानकारी दिए। सहभागी सबैलाई दर संस्कृतिबारे जानकारी गराउनुका साथै दर खुवाउने कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार मेला सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक समूहका लागि टिम दर्ता निःशुल्क गरिएको छ। इच्छुक समूहले भदौ १५ गतेभित्र दर्ता गरिसक्नुपर्ने कार्यक्रम संयोजक पाण्डेले बताइन्।

यस वर्ष अघिल्ला संस्करणको तुलनामा विद्यालयस्तरमा तीज संस्कृतिबारे जानकारी गराउने उद्देश्यले स्कुले विद्यार्थीका समूहलाई समेत विशेष रूपमा सहभागी गराउने तयारी गरिएको टेलिभिजनका सचिव सुरेश श्रेष्ठले जानकारी दिए।

मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्री तथा नेपाली उत्पादनका २५ भन्दा बढी स्टल समेत रहने उनले बताए। सिटीवान टेलिभिजनले यसअघि आयोजना गरेका तीज मेलाका चारवटै संस्करण सफल भएको जनाउँदै यसपटकको कार्यक्रमलाई थप व्यवस्थित र व्यापक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ। मेलाको हेल्थ पार्टनरका रुपममा नेपाल मणिपाल शिक्षण अस्पताल रहने भएको छ । सम्झौतासँगै अस्पतालले मेला स्थलमा बृहत् स्वास्थ्य शिविर पनि सञ्चालन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0