पोखरा । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ। आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

कार्यक्रम संयोजक समेज राजभण्डारीका अनुसार आगामी असोज ३ गते शनिबार पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा चार हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।

प्रतियोगिता आठ विधामा सञ्चालन हुनेछ। पुरुष तथा महिला हाफ म्याराथन, खुला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि पुरुष तथा महिला दौड र पुरुष तथा महिला ह्विलचेयर दौड समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट पाँच स्थान हासिल गर्ने धावकलाई नगद पुरस्कार प्रदान गरिनेछ। कुल पुरस्कार राशि १२ लाख ८० हजार रुपैयाँ रहेकोमा २५ प्रतिशत करसमेत आयोजकले व्यहोर्ने भएकाले पुरस्कारको कुल मूल्य १६ लाख रुपैयाँ पुग्नेछ।

आयोजकका अनुसार दौड बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुकसम्म पुगेर पुनः सोही मार्ग हुँदै बसुन्धरा पार्कमा आएर सम्पन्न हुनेछ। प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल एथलेटिक्स संघ, स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकसँग समन्वय गरिनेछ। दौड मार्गमा खानेपानी, हाइड्रेसन स्टेसन, प्राथमिक उपचार तथा स्वास्थ्य सेवाका साथै एम्बुलेन्स र आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गरिने आयोजकले जनाएको छ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको मुख्य आयोजनामा हुने प्रतियोगितामा यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल प्रमुख प्रायोजक तथा नेपाल एथलेटिक्स संघ प्राविधिक सहयोगीका रूपमा रहनेछन्। विभिन्न उद्योग, पर्यटन, स्वास्थ्य, उद्यमशीलता तथा सामाजिक क्षेत्रका संघसंस्थाको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकले ‘राइट टु प्रोटिन रन’लाई केवल दौड प्रतियोगिताका रूपमा नभई पोषण तथा स्वस्थ जीवनशैलीबारे राष्ट्रियस्तरमा जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाएको जनाएको छ। अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता सुलभ प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्नु अभियानको प्रमुख उद्देश्य रहेको छ।

नेपालमा प्रोटिनको आवश्यकता, गुणस्तर र उपलब्धताबारे पर्याप्त जनचेतना नभएको भन्दै आयोजकले दौडमार्फत स्वास्थ्य, पोषण र शारीरिक सक्रियताको सन्देश समुदायस्तरसम्म पुर्‍याउने जनाएको छ। सन् २०१९ देखि सञ्चालन हुँदै आएको अभियानको यस वर्षको संस्करणले विशेषगरी युवा, विद्यार्थी, खेलाडी, महिला तथा परिवारमा पोषणसम्बन्धी सचेतना बढाउने लक्ष्य राखेको छ।

प्रतियोगितालाई टेलिभिजन, छापा माध्यम, डिजिटल माध्यम तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रूपमा प्रचार गरिने आयोजकले जनाएको छ। पोखरामा हुने यस प्रतियोगिताले खेलकुदसँगै पोखरालाई स्वास्थ्य तथा खेल पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0