पोखरा । शिक्षण पेशाबाट निवृत्त भएका लेखक जयलाल पौडेलद्वारा लिखित दुई महत्वपूर्ण कृति ‘मानव मुक्ति मार्ग दिग्दर्शन’ र ‘आत्रेय गोत्र पौडेल बन्धु वृक्ष’ मंगलबार पोखरामा एकसाथ लोकार्पण गरिएको छ।
लाहाचोक पौडेल कुल पूजा समितिको आयोजनामा पोखरा–१ सिम्पानीस्थित गंगेश्वर शिव मन्दिरमा आयोजित कार्यक्रममा पोखरा चिसाखोला वेद विद्याश्रमका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिना र पौडेल वंश महासंघ नेपाल गण्डकीका अध्यक्ष रामजी प्रसाद पौडेलले संयुक्त रूपमा दुवै कृतिको लोकार्पण गरेका हुन्।
कार्यक्रममा लेखक जयलाल पौडेलले ‘आत्रेय गोत्र पौडेल बन्धु वृक्ष’ पुस्तक लाहाचोकमा पौडेल समुदायको आगमन, वंशावली, बसोबास र ऐतिहासिक पृष्ठभूमिबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रकाशन गरिएको बताए। पुस्तकमा वंश इतिहाससँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक विषयवस्तुलाई समेत समेटिएको उनले जानकारी दिए। त्यसैगरी, ‘मानव मुक्ति मार्ग दिग्दर्शन’ पुस्तक नेपाली धर्म, संस्कृति र परम्परामाथि बढ्दो चुनौतीका बीच आफ्नै संस्कार, संस्कृति र धार्मिक मूल्य–मान्यताको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको लेखक पौडेलको भनाइ थियो।

पोखरा चिसाखोला वेद विद्याश्रमका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले पुस्तकमा चराचर जगतको संरक्षण, स्तुति, प्रार्थना, आरती तथा विभिन्न देवी–देवतासँग सम्बन्धित विषयवस्तु समावेश गरिएको उल्लेख गर्दै यस्ता सामग्रीले मानव जीवनलाई अनुशासित, मर्यादित र सार्थक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। बिहान उठेदेखि राति सुत्ने बेलासम्मका दैनिक धार्मिक तथा सांस्कृतिक आचरणका लागि आवश्यक सामग्री पुस्तकमा समेटिएकाले पाठकलाई उपयोगी हुने उनले बताए।
दुवै कृतिमाथि समीक्षक तीर्थराज पौडेलले समीक्षा गर्दै लेखकले धर्म–संस्कृतिको संरक्षणसँगै आफ्ना बन्धुहरूको इतिहासलाई दस्तावेजीकरण गर्ने महत्वपूर्ण प्रयास गरेको बताए। यस्ता कृतिले भावी पुस्तालाई आफ्नो पहिचान, परम्परा र सामाजिक इतिहास बुझ्न सहज हुने उनको भनाइ थियो।
लाहाचोक पौडेल कुल पूजा समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पौडेल वंश महासंघ नेपाल गण्डकीका अध्यक्ष रामजी प्रसाद पौडेल, महासंघ कास्कीका सचिव दीपक पौडेल सहित रोमहर्षण पौडेल, डिल्लीराज पौडेल, क्या. डम्बरबहादुर गुरुङ, इन्दकला अधिकारी पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले प्रकाशित कृतिले नयाँ पुस्तालाई आफ्नो वंश, संस्कृति र धार्मिक मूल्यबारे जानकारी गराउनुका साथै अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले शिक्षण सेवाबाट अवकाशपछि पनि साहित्य, समाज र संस्कृतिको संरक्षणमा निरन्तर सक्रिय रहेको भन्दै लेखक जयलाल पौडेलको प्रशंसा गरे। कार्यक्रमको सञ्चालन लाहाचोक पौडेल कुल पूजा समितिका सचिव राजाराम पौडेलले गरेका थिए।
















