पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अग्रज पत्रकार रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई अर्पण गरिएको छ। तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका श्रीमान कर्ण गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा स्थापना गरिएको उक्त पुरस्कारअन्तर्गत २०८२ सालको पुरस्कार रुद्र बहादुर हितानमगर तथा २०८३ सालको पुरस्कार इन्दिरा गुरुङलाई प्रदान गरिएको हो। पुरस्कारसँगै उनीहरूलाई जनही १० हजार नगद राशिसहित दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मान कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी, पुरस्कार स्थापनाकर्ता तथा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापालगायतले पुरस्कृत व्यक्तित्वलाई सम्मान अर्पण गरेका थिए।
फोनिज गण्डकीका सल्लाहकार दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गरिएको हो। समितिमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापा र सचिव देबिका तामाङ सदस्य रहेका थिए।
पुरस्कृत पत्रकार रुद्र बहादुर हितानमगरले २०४१ सालमा परिस्थिति साप्ताहिक काठमाडौंबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। त्यसयता उनले अवलोकन, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक, आदर्श समाज दैनिक हुँदै हाल फेवा पोस्ट साप्ताहिकमा कार्यरत छन्। उनी तत्कालीन आदिवासी जनजाति पत्रकार संघ अनिज का संस्थापक अध्यक्षसमेत हुन्।
अर्की सम्मानित पत्रकार इन्दिरा गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा आबद्ध हुँदै पत्रकारितामा सक्रिय छिन्। उनले गुरुङ भाषामा समाचार वाचन गर्ने अग्रणी सञ्चारकर्मीका रूपमा पहिचान बनाएकी छन्। रेडियो गोर्खालीमार्फत पहिलो पटक गुरुङ भाषामा समाचार वाचन गरेपछि उनले नेपाली भाषामा पनि समाचार प्रस्तुत गर्दै भाषा पत्रकारिताको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएकी छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले फोनिज कास्कीले देखाएको सक्रियताको प्रशंसा गर्दै पत्रकारितामार्फत समाजमा सचेतना फैलाउने अभियानलाई निरन्तरता दिन आग्रह गरिन्। उनले वैवाहिक वर्षगाँठको अवसरमा पत्रकारिता पुरस्कार स्थापना गर्नु अनुकरणीय कार्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
तमु धिं नेपालका अध्यक्ष हुम तमुले नेपाल विविधताले सम्पन्न देश भए पनि पत्रकारिता क्षेत्रमा अझै समावेशिता र समान अवसरको आवश्यकता रहेको भन्दै त्यसै उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए। नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पत्रकारहरूलाई जिम्मेवार, निष्पक्ष र उत्तरदायी पत्रकारिता गर्न आग्रह गरे।
कार्यक्रममा पुरस्कार स्थापनाकर्ता कर्म गुरुङ, छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठ, सम्मानित पत्रकारद्वय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए। फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देबिका तामाङले गरेकी थिइन्।
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारले आदिवासी जनजाति समुदायका पत्रकारहरूको योगदानको सम्मान गर्दै भाषा, संस्कृति र समावेशी पत्रकारिताको प्रवद्र्धनमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
















