पोखरा । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती पोखरामा विविध साहित्यिक तथा सम्मान कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। भानु वाङ्मय प्रतिष्ठानको आयोजनामा सोमबार पोखरा–११ स्थित भानु पार्कमा आयोजित मूल समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वभरका नेपाली समुदायसँग जोड्ने ऐतिहासिक भूमिका निर्वाह गरेको बताएका छन्।
प्रदेश प्रमुख भट्टले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले साहित्यलाई जनसामान्यको जीवनसँग जोडेको उल्लेख गरे। उनले यही ऐतिहासिक योगदानका कारण नेपाली भाषा साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित हुन महत्वपूर्ण आधार तयार भएको बताए।
उनले भानुभक्तका कृतिलाई केवल पाठ्यपुस्तकमा सीमित राख्न नहुने धारणा व्यक्त गर्दै डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श र सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिए। नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि आधुनिक प्रविधिको उपयोग अपरिहार्य भएको उनको भनाइ थियो।
प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले अत्यन्त समृद्ध प्रदेश भएको उल्लेख गर्दै यहाँका साहित्यिक संस्था, अनुसन्धान केन्द्र, शैक्षिक प्रतिष्ठान तथा स्रष्टाले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर योगदान दिइरहेकोमा खुशी व्यक्त गरे। साथै, नेपाली भाषाको उन्नयनका लागि उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्दै प्रेरणा जगाउने कार्य गरेको भन्दै भानु वाङ्मय प्रतिष्ठानप्रति आभार व्यक्त गरे।
भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व जनप्रतिनिधि निर्मलप्रसाद कर्माचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का ‘विखर्ची’, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, आदिकवि भानुभक्त आचार्यका खनाती प्रदीपभक्त आचार्य, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गा बहादुर शाह ‘बाबा’, पोखरा–११ की वडा सदस्य रनशोभा गुरुङ तथा भानु वाङ्मय प्रतिष्ठानका सदस्य मिठु गुरुङलगायतले भानुभक्तको साहित्यिक योगदान र नेपाली भाषाको विकासमा उनको भूमिकाबारे विचार व्यक्त गरेका थिए।
कार्यक्रममा धर्मराज पौडेल ‘अल्पायु’ले भानुभक्तीय रचनाको वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन अम्बिका प्रसाद भट्टराई र स्वागत मन्तव्य प्रतिष्ठानका सहसचिव शिवबहादुर बरालले गरेका थिए।
यस अवसरमा नेपाली भाषा, शिक्षा र साहित्यमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। जमुना कुमारी रिजाललाई ‘भानु शिक्षा पुरस्कार’ तथा टेकनाथ पोखरेललाई ‘भानु साहित्य पुरस्कार’ प्रदान गरिएको थियो। दुवै पुरस्कारको राशि १५–१५ हजार रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ।
समारोहकै अवसरमा प्रमुख अतिथि प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रतिष्ठानलाई २० हजार १०५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरे। कार्यक्रममा आयोजक संस्थाले भानु वाङ्मय प्रतिष्ठानका गतिविधिलाई व्यवस्थित र दीर्घकालीन बनाउन ट्रष्ट तथा सभा हल निर्माण आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गण्डकी प्रदेश सरकारसँग सहयोगको आग्रह गरेको छ।
पोखरा महानगरपालिका–११ वडा कार्यालय, भानुमार्ग टोल विकास संस्था तथा भानुमार्ग ‘क’ आमा समूहको समन्वयमा सम्पन्न कार्यक्रमले आदिकवि भानुभक्तको भाषा, साहित्य र राष्ट्रिय एकतामा रहेको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यप्रति थप अभिप्रेरित गर्ने विश्वास व्यक्त गरिएको थियो।
















