पोखरा । मुक्तककार तेज नारायण अधिकारीको मुक्तक सङ्ग्रह ‘मूलधार’ माथि पोखरामा परिचर्चा गरिएको छ। पूर्व कर्मचारी सेवा परिषद् नेपाल, गण्डकी प्रदेशले आफ्ना आजीवन सदस्यसमेत रहेका अधिकारीको हालै लोकार्पण गरिएको कृतिमाथि विशेष परिचर्चा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा परिचर्चाकार गुरुप्रसाद पौडेल, ध्रुव गिरी र प्रेमलाल लामिछानेले कृतिको साहित्यिक, सामाजिक र वैचारिक पक्षमाथि विश्लेषण गरेका थिए।

उनीहरूले ‘मूलधार’ ले लेखक तेज नारायण अधिकारीलाई सशक्त साहित्यिक व्यक्तित्वका रूपमा स्थापित गर्न सफल भएको टिप्पणी गरे।परिचर्चाकारहरूले सङ्ग्रहमा समेटिएका मुक्तकहरूले देशको समसामयिक यथार्थ, सामाजिक विकृति–विसङ्गति, राजनीतिक प्रवृत्ति तथा मानवीय संवेदनालाई गहिरो ढङ्गले उजागर गरेको बताए। समाजलाई सही दिशातर्फ सचेत गराउने सशक्त अभिव्यक्तिका रूपमा अधिकारीका मुक्तकलाई उनीहरूले मूल्याङ्कन गरे।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपानेले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना प्रदेशको सभ्यता, संस्कृति, रीतिरिवाज तथा भाषिक विविधताको संरक्षण र प्रवर्द्धनका लागि भएको बताए। प्रतिष्ठानका सदस्यहरूले आफ्नो अभिव्यक्तिमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका सबै जातजाति र भाषा–भाषी समुदायको साझा प्रतिनिधित्व गर्नुपर्ने दायित्व रहेको उनले उल्लेख गरे।

स्रष्टा तेज नारायण अधिकारीले आफ्नो लेखकीय यात्राका अनुभव सुनाउँदै साहित्य सिर्जनाले आफूलाई निरन्तर सक्रिय बनाइरहेको बताए। उनले पूर्व कर्मचारी सेवा परिषद् नेपाल, गण्डकी प्रदेशका गतिविधिलाई अझ प्रभावकारी बनाउन आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। परिषद्लाई सबै पूर्व कर्मचारीहरूको साझा चौतारीका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कमल पौडेल ‘अथक’ ले आफ्नो साहित्य यात्रा सँगै प्राज्ञ सदस्य बन्दाका अनुभव समेत सुनाए । कार्यक्रममा साहित्यकार बसन्त चालिसेले मुक्तक तथा कविता वाचन गरेर साहित्यिक वातावरणलाई थप जीवन्त बनाएका थिए।

पूर्व कर्मचारी सेवा परिषद् नेपाल, गण्डकी प्रदेशका अध्यक्ष गिरीधारी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगेन्द्र पौडेलले गरेका थिए।

हालै प्रकाशित ‘मूलधार’ मुक्तक सङ्ग्रहमा १४६ वटा मुक्तक समावेश छन्। विभिन्न सामाजिक, राष्ट्रिय, सांस्कृतिक तथा मानवीय विषयवस्तुलाई समेटिएको उक्त कृतिले समकालीन नेपाली समाजका विविध आयामलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0