पोखरा । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म कण्डम वितरणको संख्या निरन्तर घट्दै गएको देखिएको छ। प्रदेशिक जनस्वास्थ्य केन्द्र पोखराको तथ्यांकअनुसार तीन वर्षको अवधिमा कण्डम वितरणमा करिब २७.७ प्रतिशतले कमी आएको छ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशभर २३ लाख ९७ हजार ६९८ थान कण्डम वितरण गरिएको थियो। यो संख्या २०८१/८२ मा घटेर २२ लाख ६४ हजार १२३ पुगेको थियो भने २०८२/८३ मा थप घटेर १७ लाख ३३ हजार २५९ मा सीमित भएको छ।

स्वास्थ्य क्षेत्रमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमअन्तर्गत कण्डम वितरणलाई सुरक्षित यौन व्यवहार, अनियोजित गर्भधारण न्यूनीकरण तथा एचआईभी/एड्स लगायत यौनजन्य संक्रमणबाट बच्ने प्रभावकारी माध्यमका रूपमा लिइन्छ। गण्डकी प्रदेशमा विगतदेखि नै परिवार नियोजनका साधनमध्ये कण्डमको प्रयोग र वितरण उच्च रहेको विभिन्न स्वास्थ्य प्रतिवेदनहरूले देखाएका छन्।

कास्की शीर्ष स्थानमा

जिल्लागत विवरण हेर्दा कास्कीमा सबैभन्दा बढी कण्डम वितरण भएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै कास्कीमा ४ लाख ११ हजार ३९ थान कण्डम वितरण गरिएको छ। त्यसपछि बागलुङमा २ लाख ४१ हजार ७६३ र तनहुँमा १ लाख ९६ हजार ६३० थान वितरण भएको छ।

त्यसैगरी गोरखामा १ लाख ६८ हजार ६३०, स्याङ्जामा १ लाख ६७ हजार १६, लमजुङमा १ लाख ३७ हजार ८४१, म्याग्दीमा १ लाख १५ हजार ३२९, नवलपुरमा १ लाख ८२ हजार ५३९, पर्वतमा ७५ हजार २३४, मुस्ताङमा २७ हजार ६७८, मनाङमा ९ हजार ५६० थान कण्डम वितरण भएको तथ्यांकमा उल्लेख छ।

सबै जिल्लामा घट्यो वितरण

तथ्यांकअनुसार अधिकांश जिल्लामा तीन वर्षयता वितरण क्रमशः घट्दो अवस्थामा छ।

  • गोरखा : २ लाख ७५ हजार १७० बाट १ लाख ६८ हजार ६३० मा झर्‍यो।
  • कास्की : ५ लाख ११ हजार ७७८ बाट ४ लाख ११ हजार ३९ मा सीमित भयो।
  • बागलुङ : ३ लाख ७१ हजार ३३७ बाट २ लाख ४१ हजार ७६३ मा झर्‍यो।
  • तनहुँ : २ लाख ५० हजार ३५८ बाट १ लाख ९६ हजार ६३० मा पुग्यो।
  • पर्वत : १ लाख ३० हजार ३६ बाट ७५ हजार २३४ मा झर्‍यो।

यद्यपि केही जिल्लामा २०८१/८२ मा सामान्य वृद्धि देखिए पनि २०८२/८३ मा पुनः कमी आएको छ।  स्याङ्जामा २०८०/८१ को २ लाख १९ हजार ७५१ बाट २०८१/८२ मा २ लाख २३ हजार ७२५ पुगेको थियो। लमजुङमा पनि १ लाख ८९ हजार ९४१ बाट १ लाख ९३ हजार ५४६ पुगेको थियो। तर पछिल्लो वर्ष दुवै जिल्लामा उल्लेखनीय गिरावट देखिएको छ।

मनाङ र मुस्ताङमा न्यून वितरण

भौगोलिक तथा जनसंख्याको हिसाबले साना जिल्ला मनाङ र मुस्ताङमा वितरण संख्या सबैभन्दा कम रहेको छ। २०८२/८३ मा मनाङमा ९ हजार ५६० र मुस्ताङमा २७ हजार ६७८ थान मात्र वितरण गरिएको छ।

के भन्छ तथ्यांक ?

प्रदेशस्तरमा तीन वर्षको तुलना गर्दा २०८०/८१ को तुलनामा २०८२/८३ मा कण्डम वितरण ६ लाख ६४ हजार ४३९ थानले घटेको देखिन्छ। यो कुल वितरणको करिब २७.७ प्रतिशत कमी हो।

स्वास्थ्यकर्मीहरूका अनुसार परिवार नियोजनका अन्य साधनहरूको प्रयोग वृद्धि हुनु, वितरण प्रणालीमा परिवर्तन आउनु, मागमा कमी आउनु वा तथ्यांक सङ्कलन प्रक्रियामा भएका फरक अभ्यासहरू पनि वितरण घट्नुका सम्भावित कारण हुन सक्छन्। यद्यपि कण्डम सुरक्षित यौन व्यवहार तथा एचआईभी/एड्स लगायत यौनजन्य संक्रमण रोकथामका लागि महत्वपूर्ण साधन रहेको स्वास्थ्य क्षेत्रका प्रतिवेदनहरूले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0