पोखरा ।  आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता र प्रतिनिधित्व बढाउन सञ्चारमाध्यमको भूमिका कस्तो हुन सक्छ भन्ने विषयमा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शान्ति न्याय तथा लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल सङ्कल्प गण्डकीको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा महिला राजनीतिक सहभागिता, समान प्रतिनिधित्व तथा मिडियाको जिम्मेवारीबारे व्यापक छलफल गरिएको थियो। 

कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी नारायण कार्कीले महिलाको जनसङ्ख्या अनुसारको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले हाल संविधान संशोधनको बहस चलिरहेको सन्दर्भमा महिलाको सहभागितालाई प्रमुख एजेन्डाका रूपमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने बताए।उनले महिलालाई केवल समावेशिताका नाममा सीमित राख्ने होइन, निर्णय तहमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्नुपर्ने धारणा राखे। स्थानीय तह निर्वाचनमा महिलाले महिलासँगै प्रतिस्पर्धा गर्ने वातावरण निर्माण गर्न सके मात्रै वास्तविक समानता र प्रतिस्पर्धात्मक अवसर सुनिश्चित हुने उनको भनाइ थियो।

कार्यक्रममा डब्लुडब्लुजे की केन्द्रीय सदस्य दुर्गा अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै महिलाको वर्तमान सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाबारे जानकारी गराएकी थिइन्। उनले महिलाहरू अझै पनि विभिन्न संरचनागत, सामाजिक तथा आर्थिक अवरोधका कारण नेतृत्व तहमा पुग्न सङ्घर्ष गरिरहेको बताइन्। महिलाको क्षमता विकास, अवसरमा पहुँच र निर्णय प्रक्रियामा सहभागिता बढाउन राज्य, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यम सबैले साझा रूपमा काम गर्नुपर्ने उनको जोड थियो।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सङ्कल्प गण्डकी अध्यक्ष सरिता तिम्सिना पँगेनीले आगामी निर्वाचनलाई लक्षित गर्दै सीमान्तीकृत तथा पछाडि पारिएका महिलाको आवाजलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउन कार्यक्रम आयोजना गरिएको बताइन्। उनले मिडियाले महिलाका मुद्दालाई प्राथमिकताका साथ उठान गरेमा नीति निर्माण र राजनीतिक सहभागितामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। उनले लोकतान्त्रिक प्रक्रियामा सबै वर्ग र समुदायका महिलाको समान सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यम, नागरिक समाज तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

अन्तरक्रिया कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासङ्घकी महासचिव जमुना शर्मा वर्षा, कास्की उपाध्यक्ष माधव रेग्मी, सङ्कल्प गण्डकीकी उपाध्यक्ष मिलन भुजेल, महासचिव ईश्वरी बिक लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।

त्यसैगरी भरत कोइराला, श्रुति कुमाल, अनिशा श्रेष्ठ, सर्मीला रानाभाट, राजाराम पौडेल, शान्ति गुरुङ, रोजी श्रेष्ठ लगायत सहभागीहरूले महिला सहभागिता बढाउन सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने, निर्वाचनका बेला महिला उम्मेदवारका मुद्दा र एजेन्डालाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने तथा सीमान्तीकृत समुदायका महिलाको आवाजलाई सार्वजनिक बहसमा स्थान दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले स्थानीय तह निर्वाचनलाई थप समावेशी, समानुपातिक र प्रतिनिधिमूलक बनाउन सञ्चारमाध्यमले सचेतना अभिवृद्धि, नीति बहस र जनमत निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने निष्कर्ष निकालेका थिए। आयोजक संस्थाले आगामी दिनमा पनि महिला अधिकार, राजनीतिक सहभागिता र समावेशी लोकतन्त्रका विषयमा यस्ता छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0