पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल गनेशले आम नेपालीले देखेको सपनाको मूलभूत आधार मध्य पर्यटन प्रमुख रहेको भन्दै यसपालिको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरे । शनिबार पोखरामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिका समितिको प्रथम ऐतिहासिक अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसअगाडि पर्यटन क्षेत्र दृष्टिकोणविहीन तरिकाले अगाडि बढिरहेकोमा यसपालिको बजेट मार्फत स्पष्ट दृष्टि दिइएको दावी उनको छ ।

मन्त्री पौडेलले अर्थ मन्त्रीले स्वर्णिम युगको सुरुवात गर्ने खालको बजेट प्रस्तुत गरेको भन्दै त्यसको सकुशल कार्यान्वयनमा सबैको साथ आवश्यक पर्ने बताए । अभूतपूर्व जनमत प्राप्त गरेको अवसरलाई सदुपयोग गर्न पार्टीका सङ्गठनलाई जरैदेखि बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सोच विचार गरेरै सरकारले महत्वाकाङ्क्षी बजेट ल्याएको बताए ।  उनले पुरानो शैलीमा देश अगाडि बढाएर नहुने भन्दै त्यसमा फड्को मार्नको लागि सरकारले काम गरिरहेको उल्लेख गरे । उनले बजेटको बारेमा आम जनमानसमा बुझाउन पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरे । 

सोही कार्यक्रममा बोल्दै कास्की क्षेत्र नं। २ बाट निर्वाचित सांसद उत्तम प्रसाद पौडेलले प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए । सङ्घ सरकारलाई देखाएर स्थानीय सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाइएको उनको दावी थियो । सङ्घ सरकारले नागरिकमुखी निर्णय मात्र गर्ने उनको भनाइ छ ।

अधिवेशन आयोजक समिति पोखरा महानगरका संयोजक नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  पूर्व सासंद तथा केन्द्रिय समन्वय समिति सदस्य शिव नेपाली, जन सम्पर्क उपप्रमुख कुमार खड्का, गण्डकी प्रदेश सभापति राजन गौतम, कास्की सभापति यदुनाथ अधिकारी, कास्की सचिव दीपेन्द्र पोखरेल बादशाह,  अधिवेशन आयोजक समितिका सहसंयोजक सङ्गीता गौतम तिमिल्सिना, कोषाध्यक्ष सीता कुमारी चापागाईं,पोखरा १७ सभापति नुर बहादुर विश्वकर्मा, पोखरा ६ उपसभापति  अनुराधा श्रेष्ठ, पोखरा ३३ का दिनेश आचार्य, पोखरा २८ की राधा भण्डारी, महानगर सहसचिव  कमल बानियाँ लगायतले बोलेका थिए ।

 अधिवेशनले योगेन्द्र केसीलाई सभापतीमा चयन गरेको छ । पोखरा १७ निवासी यातायात ब्यवसायि तथा रास्वपाका पूर्व अनुशासन विभागका प्रमुख केसीलाई सर्वसम्वत रुपमा आगामी कार्यकालका लागि सभापतिमा चयन गरेको हो । केसी वि स २०७४ सालमा पृथ्वीराजमार्ग बस ब्यवसायि समितिको अध्यक्ष भएर काम गरीसकेका थिए ।

 उप सभापतिमा संगिता गौतम तिमिल्सेना,सचिवमा कमल बानियाँ,सह–सचिवमा सरिता शर्मा र १८ जना नगर सदस्य समेत चयन भएका छन् । प्रदेश सदस्यमा दिपेन्द्र पोखरेल बादशाह,कृष्ण प्रसाद भण्डारी,सोमनाथ अधिकारी र सञ्जिवभक्त अधिकारीलाई चयन गरेको छ भने जिल्ला प्रतिनिधीमा राम बहादुर थापा,लक्ष्मी परियार,विजय बिक्रिम दाहाल र सिता चापागाईलाई चयन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0