पोखरा । पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समिति ले सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई तीव्र बनाउँदै पृथ्वीचोक बसपार्क क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएका छन् । अभियानअन्तर्गत पृथ्वीचोकको हङकङ बजार अगाडिको क्षेत्रमा रहेका विभिन्न संघसंस्था तथा संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन थालिएको छ ।
लामो समयदेखि सरकारी स्वामित्वको जग्गामा कार्यालय तथा भवन बनाएर बसोबास र भोगचलन गर्दै आएका संस्थाहरूले अहिले सामान स्थानान्तरण गर्ने तथा आफ्नै भवन भत्काउने काम सुरु गरेका हुन् । महानगरपालिका र नगर विकास समितिले यसअघि ३५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरेको थियो भने त्यसपछि थप १५ दिनको समयसमेत दिइएको थियो । नगर प्रमुख धनराज आचार्य का अनुसार सार्वजनिक जग्गा संरक्षणसँगै पृथ्वीचोक क्षेत्रमा दीर्घकालीन योजनाअनुसार सडक विस्तार तथा व्यवस्थित पूर्वाधार निर्माणको काम अघि बढाइनेछ ।
यसैक्रममा बिहीबार बिहान ११ बजेदेखि पृथ्वीचोक स्थित साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कङ्ग्रेस र हिमाली सांस्कृतिक परिवार लगायतका संरचनाहरू डोजर लगाएर हटाउने भएको छ । उनीहरूलाई आफ्ना सामाग्रीहरू स्थानान्तरण गर्नका लागि ३५ दिन बढी समय दिएर खाली भइसकेपछि ती संरचनाहरू हटाउन लागिएको नगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा लामो समयदेखि ती संस्थाहरूले उपभोग गर्दै आइरहेका थिए ।
त्यस स्थानमा रहेका संरचनाहरू हटाएर नयाँबजार तर्फ आउने दुईतर्फी सडक विस्तार गरिनेछ । उक्त आसपासमा रहेका सुकुम्वासीहरूको पनि उचित व्यवस्थापन गरी खाली गर्ने महानगरपालिकाको तयारी रहेको छ । यस कार्यमा आवश्यक समन्वय तथा सहयोग गर्ने सम्बद्ध सङ्घसंस्था तथा सरोकारवालाहरू प्रति नगर प्रमुख आचार्यले आभार प्रकट गरेका छन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश ले पृथ्वीचोकस्थित आफ्नो कार्यालय खाली गरेर नागढुंगामा सारेको जनाएको छ । जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री ले नगर विकास समितिले २०६० साल माघ २३ गते संस्थालाई उक्त स्थान उपयोगका लागि उपलब्ध गराएको स्मरण गर्दै अहिले आवश्यकता परेको भन्दै फिर्ता मागेपछि संरचना हस्तान्तरण गरिएको बताए । उनले सार्वजनिक जग्गा संरक्षण अभियानलाई सकारात्मक कदमको रूपमा व्याख्या गर्दै पृथ्वीचोक क्षेत्रमा अब व्यवस्थित र सुविधा सम्पन्न बसपार्क निर्माण हुनुपर्नेमा जोड दिए
।
त्यस्तै सहारा क्लब पोखरा ले पनि पृथ्वीचोकस्थित आफ्नो कार्यालय दोबिल्लास्थित फुटबल एकेडेमीमा सारेको जनाएको छ । क्लबका अध्यक्ष केशवबहादुर थापा का अनुसार कार्यालयका आवश्यक सामग्रीहरू स्थानान्तरण गरिसकिएको छ । क्लबले सरकारी जग्गा खाली गर्ने अभियानमा सहयोग गर्दै संरचना हटाउने काम अघि बढाएको जनाएको छ ।
यस क्षेत्रका नेपाल ट्रेड युनियन कांग्रेस, सामुदायिक प्रहरी सेवा पृथ्वीचोक तथा हिमाली सांस्कृतिक परिवार लगायत संस्थाहरूले पनि आफ्नो भवन तथा संरचना हटाउने काम थालेका छन् । कतिपयले सामान सारिसकेका छन् भने केहीले आफैं पुराना संरचना भत्काउन सुरु गरेका छन् ।
पृथ्वीचोक पोखराको मुख्य यातायात केन्द्रका रूपमा परिचित क्षेत्र हो । लामो समयदेखि बसपार्क व्यवस्थापन, ट्राफिक चाप तथा अव्यवस्थित संरचनाका कारण आलोचना हुँदै आएको थियो । सरकारी जग्गा खाली हुन थालेपछि अब आधुनिक बसपार्क निर्माणको बहस पुनः केन्द्रमा आएको छ ।
स्थानीयवासी तथा यातायात व्यवसायीहरूले पृथ्वीचोकमा पर्याप्त पार्किङ, यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, डिजिटल टिकट प्रणाली तथा व्यवस्थित यातायात सञ्चालनसहितको आधुनिक बसपार्क निर्माण गर्नुपर्ने माग गर्दै आएका छन् । महानगरपालिका र नगर विकास समितिले पनि सरकारी जग्गा संरक्षणपछि दीर्घकालीन गुरुयोजनाअनुसार काम गरिने बताएका छन् ।















