पोखरा । फेवा डुङ्गा व्यवसायी सङ्गठनको आयोजनामा यही १८ जेठ गते पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुङ्गा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार पुरुषतर्फ बाराहीघाटदेखि पारि लेक हाउससम्म झण्डै ३ किमि दूरीमा तथा महिलातर्फ बाराहीघाटदेखि पारि लिची गार्डेनसम्म २ किमी तथा प्रतिस्पर्धा गराइने छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवर्द्धनमा हुने डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार तथा सान्त्वनाले ५ हजार सहित ट्रफि, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ ३५ टिम तथा महिलातर्फ १५ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीनजना डुङ्गा चालक रहने छन् ।
प्रतियोगिता सफल पार्न फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा मूल आयोजक समारोह गठन गरि विभिन्न उपसमिति गठन गरिएको छ । जसअनुसार खेलकुद संयोजकमा बत्ती गुरुङ, प्रचार प्रसार समितिमा शिव रुद्र जि.सी., आर्थिक समितिमा बुद्धिनाथ पाण्डे, मञ्च व्यवस्थापन तथा स्वयंसेवक समितिमा धनबहादुर बि.क., अतिथि सत्कार समितिमा तारा बि.क. रहेका छन् ।
















