पोखरा ।  पोखरा १४ अनुपम टाेल स्वागत नगर चाउथेमा अवस्थित पोखरा पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । शनिबार विद्यालयमा एक भव्य आयोजित कार्यक्रममा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान र बधाई दिँदै पुरस्कृतसमेत गरिएको हो ।

यसपालीको एसईईमा यस विद्यालयबाट दुई जना विद्यार्थीले  ४ जिपिए ल्याएका थिए । कार्यक्रममा ४ जिपिए ल्याएका रोनिश खत्री र सक्षम पौडेललाई जनही ३५ हजार रुपैयाँ नगदसहित सम्मान गरियाे ।  विद्यालयले दुवै विद्यार्थीको उपलब्धिले विद्यालयसँगै समग्र पोखराकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको भन्दै पुरस्कृत गरेको जनाएकाे छ । उत्तीर्ण सबै विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

पोखरा पब्लिकबाट यस वर्ष एसइईमा सहभागी ६४ जना विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तप्रसाद पराजुलीले विद्यालयको निरन्तर शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा ध्यान दिइएको उल्लेख गरे ।

विद्यालयका प्राचार्य कृष्ण केसीले विद्यार्थीहरूको सफलताको श्रेय मेहनती विद्यार्थी, समर्पित शिक्षक र निरन्तर सहयोग गर्ने अभिभावकलाई दिँदै सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

‘हाम्रो उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु मात्र होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु पनि हो । अहिलेको एसइई नतिजा र विगतका उपलब्धिले त्यसलाई पुष्टि गरेको छ,’ उनले भने । उनले जीवनलाई निरन्तर परीक्षाको रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई संयमित भएर अघि बढ्न सुझाव दिए । ‘परीक्षाको मात्र होइन, जीवनका सबै परीक्षामा सफल हुनुपर्छ,’ उनले भने ।

प्राचार्य केसीले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको जानकारी दिए ।
कार्यक्रममा पूर्व विद्यार्थी तथा महिला रोग विशेषज्ञ डा. अनुपमा कार्की र एमबिबिएस अध्ययनरत प्रेरणा श्रेष्ठले सफलताका लागि निरन्तर मेहनत र अनुशासन अपरिहार्य हुने बताए । 

विद्यालयका सल्लाहकार रवि बरालले विद्यालयले राम्रो शैक्षिक इन्डेक्स तयार पारेको उल्लेख गरे । उनले विद्यार्थीहरूलाई आफ्नो क्षमता (एबिलिटी) विकास गर्दै जिम्मेवार र सम्मानजनक ढंगले उच्च अध्ययन पूरा गर्न सुझाव दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले अहिलेको पुस्ताले पढाइसँगै व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने बताए । उनले विद्यार्थीहरूलाई घरायसी सामान्य काममा पनि सहभागी हुन आग्रह गर्दै अभिभावकलाई त्यसका लागि प्रेरित गर्नुपर्ने धारणा राखे ।

विद्यालय २०५१ साल पुस ११ गते स्थापना भएको हो । प्राचार्य कृष्ण केसी संस्थापक समेत हुन् । विद्यालयले २०५६ सालमा तत्कालीन एसएलसी परीक्षामा पहिलो पटक विद्यार्थी सहभागी गराएको थियो, जसमा ९ जना विद्यार्थी सहभागी भएका केसीले जानकारी दिए ।
समयक्रमसँगै विद्यालयको शैक्षिक विस्तार हुँदै गएको र हाल विद्यालयमा हजारौं विद्यार्थी अध्ययनरत रहेको  केसीले जानकारी दिए । विद्यालयले २०७२ सालमा कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको पनि जनाएको छ ।
कार्यक्रमको सञ्चालन विद्यालयका नेपाली प्राध्यापक बुद्धि सागर त्रिपाठीले गरेका थिए । विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्मको पढाई हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0