पोखरा । मानवसेवा आश्रम को पोखरा–हेम्जामा जारी “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा उद्योगपति तथा समाजसेवी हरि पाण्डे र तुलसा पाण्डे दम्पतीले ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
आफ्नो वैवाहिक जीवनको ५९ औँ वर्षगाँठलाई मानवसेवा र परोपकारमा समर्पित गर्दै पाण्डे दम्पतीले उक्त सहयोग गरेको आश्रमका अभियन्ता आशिष गौतम ले जानकारी दिए । उनीहरूले आजीवन वार्षिक भोजन सेवा अन्तर्गत १८ दिनको भोजन सेवा सदस्यता ग्रहण गर्दै १८ लाख ८८ हजार ८ सय ८६ रुपैयाँ सहयोग गरेका छन् भने मुक्तिनाथ सेवा धर्मशाला निर्माणका लागि पाँच कोठा निर्माणार्थ ३५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ अर्पण गरेका छन् ।
यसअघि सञ्चालन गरिएको महायज्ञमार्फत पनि पाण्डे दम्पतीले भवन निर्माण सम्पन्नताका लागि पाँच कोठा निर्माणार्थ ३० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका थिए । यसरी आश्रमको भवन निर्माणका लागि पाण्डे दम्पतीको कुल योगदान ८५ लाख रुपैयाँभन्दा बढी पुगेको आश्रमले जनाएको छ ।
महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले व्यक्तिगत अवसरलाई मानवताको सेवामा समर्पित गर्दै गरिएको योगदान प्रेरणादायी रहेको बताए । आश्रमका अध्यक्ष रामजी अधिकारी ले पाण्डे दम्पती समाजका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरे ।
आश्रमका अनुसार भवन निर्माण, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष वृद्धिका लागि महायज्ञ सञ्चालन गरिएको हो । हालसम्म महायज्ञबाट १ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको जनाइएको छ । महायज्ञ यही वैशाख २६ गते शनिबारसम्म संचालन हुने भएको छ ।
















