पोखरा । नाटक मसानघाट शुक्रबार देखि पोखरामा मञ्चन हुने भएको छ । पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुने उक्त नाटकमा रङ्गकर्मी राजेन्द्र अधिकारी अपूर्णले एकल अभिनय गर्ने छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका वरिष्ठ साहित्यकार सरुभक्त द्वारा लिखित नाटकमा एकल अभिनय मार्फत मञ्चमा देखिने अधिकारी नाटकको निर्देशक समेत हुन् ।
नाटक शुक्रबार देखी चार दिन सम्म प्रदर्शनमा आउँने छ । यो चार दिनमा हरेक साँझ ५ बजेका अतिरिक्त शनिबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइनेछ । मसानघाट नाटकका लेखक सरुभक्तका अनुसार नाटक देशको परिस्थितिमा आधारित रहेर रचना गरिएको एकल नाटक हो । उनले मसान नाटक नयाँ नाटक भएको बताए । विशेष गरी उक्त नाटकमा देशमा जेन्जी आन्दोलन र त्यस आन्दोलन भन्दा अगाडि र पछाडिको परिस्थितिलाई समेटी निर्माण गरिएको उनको भनाई छ । राजनीतिक विषय र समसामयिक विषय वस्तुमा आधारित रहेर लेखिएको एकल नाटक भएकाले एकजना कलाकारले नै सम्पूर्ण नाटक को अभिनय गर्न सकिने सरुभक्तले बताए ।
निर्देशक अधिकारीले वर्तमान समयका परिस्थितिलाई विशेष प्राथामिकतामा राखी नाटकको रचना भएको बताए । नाटकमा अन्तराष्ट्रिय युद्ध र त्यहाँ घटेका घटनाहरूलाई विस्तृत रुपमा प्रस्तुत गर्न खोजिएको उनको भनाई छ। नाटक मसानघाटले देशप्रेमको भावनामा ओतप्रोत भई देशको कथा नाटकले बोल्ने भएकाले सबैले एकपटक हेर्नुपर्ने उनको सन्देश छ ।
नाटक मञ्चनको सबै तयारी पुरा भएको निर्देशक अधिकारीले जानकारी दिए । नाटकले दर्शकहरूलाई अरु नाटक हेरेर भन्दा केही फरक र पृथक खालको अनुभुति दिलाउने विश्वास लिइएको छ । यस नाटकका लागि अडियो तथा भिडियो डिजाइन जितेश प्रधानले गरेका छन् भने निर्माण सुनिता कपाली अधिकारीको हो । नाटक मञ्चनको सबै तयारी पुरा भएको छ ।
















