पोखरा । सूर्यतारा क्लब पोखराले आयोजना गर्ने  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ को सबै तयारी पुरा भएको छ ।  चैत्र २७ गते शुक्रबारदेखि चैत्र ३० गतेसम्म पोखरा २९ भण्डारढिकमा रहेको प्रस्तावित रङ्गशालामा सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको क्लब अध्यक्ष विष्णु पुनले जानकारी दिए । 

महोत्सवको मुख्य आकर्षणको रुपमा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिता रहेको छ । जसमा कुल १८ समुहबीच प्रतिष्पर्धा हुनेछ । यसरी प्रतिष्पर्धा गर्ने टिमलाई दुई समुहमा विभाजन गरिएको छ । उद्‌घाटन खेलमा आयोजक सूर्यतारा क्लब ए र पोखरा २९ टिमबीच प्रतिष्पर्धा हुनेछ । सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । 

फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत आयोजना गरिने प्रचार प्रसार संयोजक इश्वर अधिकारीले जानकारी दिए ।

‘स्पोर्ट्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजनामा हुन लागिरहेको तेस्रो सुर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान संघ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।  प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स,  प्रवर्द्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।  

सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू  रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।

‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0