पोखरा  । पोखरामा दोस्रो पोखरा ओपन एथलेटिक्स मिट तथा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप हुने भएको छ । चैत्र २८ गतेबाट पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण  तयारी पूरा भएको कास्की जिल्ला एथलेटिक्स सङ्घले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर जनाएको छ । 

नेपाल एथलेटिक्स सङ्घको समन्वयमा हुने प्रतियोगिता  चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कुल ४ सय ५४ खेलाडी सहभागी हुने छन् । कास्की जिल्ला एथलेटिक्स सङ्घका सचिव समेत रहेका कार्यक्रम संयोजक सिद्धान्त अधिकारीका अनुसार पोखरा ओपनतर्फ महिला र पुरुष गरी ३ सय खेलाडी प्रतिस्पर्धामा उत्रने छन् भने यू–२० राष्ट्रिय च्याम्पियनसिपतर्फ १ सय ५४ खेलाडी सहभागी बन्नेछन् ।

दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा सातै प्रदेश र नेपालका विभागीय क्लबहरूको सहभागिता रहनेछ भने यू–२० च्याम्पियनसिपमा सातै प्रदेशबाट छनोट भएर आएका खेलाडी सहभागी बन्नेछन् । राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता एसियन च्याम्पियनसिप र हङ्कङमा आयोजना हुने एक अर्को प्रतियोगिताका लागि छनौट खेल समेत रहेको कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष गजबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पोखरा ओपनतर्फ ३० विधा तथा यू–२० च्याम्पियनसिपतर्फ २४ विधा समावेश गरिएका छन् । पोखरा ओपनका हरेक इभेन्टमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ । यू–२० तर्फ विजेताले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक अधिकारीले जानकारी दिए ।

प्रतियोगितालाई सफल बनाउन सबैको सहयोगका लागि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले आग्रह गर्दै प्रतियोगिता सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।

 प्रतियोगितामा नेपाल एथलेटिक्स सङ्घ, रेडबुल इनर्जी पार्टनर, योर्स ट्रेनिङ र ग्याट्स ट्रेनिङ सेन्टर तथा कफी डे हिमालय एसोसिएट स्पोन्सरकै रूपमा रहेका छन् । सफल दूध न्यूट्रिसियन पार्टनर, सगरमाथा लुम्बिनी इन्सुरेन्स इन्सुरेन्स पार्टनर, ग्रीन डेभलपमेन्ट बैक बैङ्किङ पार्टनर तथा सोल्टी पिउने पानी हाइड्रेशन पार्टनरका रूपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0