पोखरा । “स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित स्थापित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लबको प्रवास शाखालाई स्वागत तथा सम्मान गरेको छ । पोखरामा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष एमबी आस्था मगरले खादा र सम्मानपत्रले स्वागत तथा सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष गुरुङले खेलकुद विकासमा सहारा युकेले पुर्याएको योगदानको प्रशंसा गरे । उनले आगामी दिनमा पनि खेलको विकासमा सँगै हातेमालो गरेर अघि बढ्ने भनाइ राखेका थिए।
कार्यक्रममा तमु धिं युकेका अध्यक्ष कमल गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरू असहज नहोस् भन्ने उद्देश्यले सहकार्यलाई थप मजबुत बनाइने बताए । उनले युकेमा बसोबासदेखि लिएर खेलाडीहरूलाई घुमाउने गरेको स्मरण गर्दै विगतका समयमा पनि तमु धिं युकेले मञ्चले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास दिलाए । उनले नेपाली खेलाडीलाई खेल्ने अवसर सिर्जना गर्न हातेमालो गर्दै अघि बढ्ने वातावरण तयार गरिने उल्लेख गरे।
सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा युकेका उपाध्यक्ष पिताम्बर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङलगायतले खेलकुद क्षेत्रको समग्र विकासका लागि सहकार्य र सहयोगलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव परशुराम शर्माले पनि बोलेका थिए ।
















