पोखरा । माघ ५ गते सोमबारदेखि पोखरा १५ कार्यालयले  आयोजना गर्ने बृहत् खेलकुद महोत्सवको तयारीको सम्पूर्ण तयारी पुरा भएको छ । माघ १० गतेसम्म गरेर ६ दिनसम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर बास्केटबल, रस्साकस्सी, दौड, ह्वीलचेयर दौड साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ ।  

वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो चौथो संस्करण हो । वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न सङ्घसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको उद्‌घाटन सोमबार बिहान ११ बजे पछि वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानमा हुने वडा अध्यक्ष तोरणबहादुर बानियाँले  जानकारी दिए ।

महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीका अनुसार अघिल्ला तीन महोत्सवभन्दा थप परिष्कृत र भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी गरिएको छ । उनका अनुसार खेल महोत्सवको उद्‌घाटन अगाडि बाजागाजा सहित झाकी र्‍याली निकालिनेछ । सोमबार बिहान साढे १० बजे पोखरा १५ को वडा कार्यालयबाट सुरु हुने  झाकी र्‍याली कार्यक्रम स्थल वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानमा पुग्ने उनले जनाए । उत्कृष्ट झाकी र्‍यालीलाई पुरस्कार समेत प्रदान गरिनेछ ।

वडाध्यक्ष तोरणबहादुर बानियाँले वडा खेलकुद महोत्सवको अवधारणा अनुरूप स्थानीय तहमा खेलकुदको माध्यमबाट समुदायको सर्वाङ्गीण विकास गर्न केन्द्रित रही महोत्सवलाई निरन्तरता दिइएको बताए । उनले यस्ता गरिमामय सङ्घसंस्थाको सहयोगबाट वडा उत्साहित बनेको र आफूहरूको अभियानलाई अघि बढाउन मद्दत पुग्ने बताए । प्रतियोगिताको टाइ सिट र समय तालिका समेत सार्वजनिक भएको छ । वडावासीमा भाइचारा र सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले लागिएको खेल महोत्सवको उद्‌घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नेछन् ।

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल सङ्ख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ । १७ वटा इभेन्टमा हुने प्रतियोगितामा  ५ लाख ८८ हजारभन्दा बढि पुरस्कारमा खर्च हुने वडाध्यक्ष बानियाँको भनाइ छ ।  पहिलो खेलकुद महोत्सवमा ९ सयभन्दा बढि खेलाडी सहभागी, दोस्रोमा १३ सय, तेस्रो संस्करणमा १५ सय हुँदै यसपालि १७ सय भन्दा बढी वडावासी खेलमा नै सहभागी हुने उनको विश्वास रहेको छ। खेल महोत्सवको अवसरमा हरियो खर्क अस्पतालको सहकार्यमा बृहत स्वास्थ्य शिविर समेत आयोजना गरिएको उनले खुलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0