पोखरा । पुन आर्ट इन्डष्ट्रिजका संस्थापक निर्देशक हुन् तीलक पुन पुर्जा । उनले कलाक्षेत्रलाई व्यवसायिक रूप दिएको ४२ वर्ष भइसकेको छ । २०४२ सालमा एकजना साथीसँग मिलेर ‘आँकुरा आर्टस्’ सञ्चालन गर्दै यो क्षेत्रमा पाइला चालेका पुनले एक वर्ष ‘आँकुरा’ मार्फत नै आफ्नो करियर अगाडि बढाए । त्यतिबेला साइनबोर्ड सँगै गाडी पेन्टिङ गर्ने गरिन्थ्यो । भैरहवा, सुनौलीसम्म पुगेर गाडीहरू पेन्टिङ गरेको उनले भूलेका छैनन् । आँकुरा आर्ट साथीलाई नै छोडेर एक वर्ष पछि तिलकले ‘पुन आर्ट’ सञ्चालन गरे ।
काममा लागेपछि एकोहोरो लागि पर्ने स्वभावका उनले पोखरामा पुनहरूको बसोबास रहेकोले बुटबलमा भन्दा पोखरामा कलाको कदर हुन्छ होला व्यवसाय फस्टाउँछ होला भन्ने लक काटेर त्यसको पूर्व अभ्यासको लागि पुन आर्ट भनेर बुटबल चलचित्र मन्दिरको छेउमा एउटा सटर भाडामा लिएर खोलेका थिए । त्यसपछि उनी पोखरामा आए ।
राष्ट्रिय पञ्चायतको आम निर्वाचनका एकजना उम्मेदवारको प्रचार प्रसार गरेको थिए । लुगा सिउने कल मेसिनमा भोट दिनुहोस् भन्दै आफ्नो कलाको सदुपयोग गरे । उम्मेदवार निर्वाचनमा पराजित भएपनि उम्मेदवारका छोराले पुनको प्रतिभा देखेर फोटोग्राफी सिक्न उत्प्रेरित गरेका थिए । ६ महिना उनले फोटोग्राफी पनि सिके ।
उनले पोखरमा करियर सुरु गर्दा सबैभन्दा पहिला भैरवटोलमा “लालिगुँरास मेडिको फर्मा” भनेर सटरमा लेखे । त्यसको माथिपट्टि रहेको सानु फिड इन्डष्ट्रिज भन्ने बोर्ड लेखे । पोखरा बरफबाट उत्पादित हिमाल आइसक्रिमको ठेला पेन्टिङ गरे। त्यतिबेला पसल भने खोलिसकेका थिएनन् ।

पोखरामा दोस्रो राष्ट्रिय खेलकुद हुँदा त्यतिबेलाको पेन्टर बाबु, श्रेष्ठ आर्ट, अरनिको आर्ट, गोपाल आर्ट लगायतमा बोर्ड ब्यानरहरू देख्दा पुन असाध्यै प्रभावित बने । त्यतिबेला सिकारु अवस्थामा भएपनि पोखरामा आर्ट पसल खोले भने साइनबोर्डको लेटर स्टाइलमा केही एउटा नयाँ परिवर्तन ल्याउन सक्छु भन्ने हिम्मत उनका आएको थियो ।
२०४३ सालमा सभागृहमा मदन गौचनको घरमा एउटा सटर लिएर पसल खोले । हाल पोखरा सभागृह रहेको ठाउँमा सिस्नोघारी थियो । एक वर्ष पनि बस्न पाएनन् खाली गर्नु पर्यो । त्यसपछि विभिन्न ठाउँमा सर्नु पर्यो । अहिले पोखराको नयाँबजारमा उनले लाइब्रेरी र ग्यालरी सहित पुन आर्टस् सञ्चालन गरेका छन् ।
पोखरामा साइनबोर्ड लेखनमा त्यतिबेला नौलो क्रान्ति ल्याएको दावी उनी गर्छन् । लेटर स्टाइलमा नयाँ क्रियशन ल्याएको उनको भनाइ छ । उनले आफूमा क्षमता बढाउन २०४५ सालमा बुटबलमा गएर आर्ट सिकेका थिए । त्यसपछि साथी लक्ष्मण श्रेष्ठ र उनी विराटनगर गए । तत्कालिन क्वालिटि विस्कुट, बाबा विस्कुट, कोशी चिया लगायतका व्यवसायीको मन जितेर काम गरे । उनीहरु कामबाट प्रभावित भए । धेरै काम दिए । भ्याउनुभयो भने महाकाली अञ्चल सम्म पुग्नु भए हुन्छ भन्ने गरेको पुनले अझै स्मरण गर्छन्।

त्यतिबेला झण्डै १३ जना कलाकारलाई काम समेत उनले दिएका थिए । पोखरामा आधा जसोलाइ काम सिकाएको बताएका उनले आफुसँग सिक्नेहरू अहिले कार चढेर हिडेको देख्दा गौरव लाग्ने गरेको बताउँछन् । त्यतिबेला उनको व्यवसाय शिखरमा पुगेको थियो । अहिले विज्ञापन गर्ने जुन शैलि आएको छ त्यसले उनको व्यवसायमा असर पुग्यो । त्यतिबेला ठाउँ-ठाउँमा होडिङ बोर्ड राख्ने, वाल पेन्टिङ गर्ने, वाल बुक गर्ने मात्र नभएर कुन कम्पनीलाई कहाँको वाल दिने, होडीङ बोर्ड दिने भन्ने उनमा निहित थियो ।
उनले कसरी काम गर्दा प्रभावकारी हुन्छ भन्नेमा ध्यान दिन्थे । त्यसैलेत राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका २ सय जति काम उनले पाए । कोकाकोला, बोटलर्स नेपाल, पेप्सीकोला कम्पनी, साबुन, बिस्कुट, टुबोर्ग, जस्तापाता, सिमेन्ट, बल्ब, खाद्यान्न लगायतको विज्ञापन उनले लेखे ।
त्यतिबेला उद्योग धन्दा प्रचुर मात्रामा थिए । नउठेको रकम दशैं लगायतका चाडबाडको समयमा उठ्थ्यो । एक अर्कामा विश्वास थियो । उद्योगी व्यवसयीको व्यापार पनि राम्रो थियो । त्यतिबेला काम गरेका धेरै कम्पनी अहिले भने बन्द भइसके।
पछि डिजिटल प्रविधिमा आर्ट व्यवसाय गयो । हुनत यो प्रविधि आउने जानकारी उनले ५, ६ महिना अगाडि नै थाहा पाएका थिए । तर उक्त प्रविधि तर्फ ढल्कन खोजेनन् । प्रविधिको प्रयोग गर्दा कला मर्ने उनको बुझाइ थियो । मौलिक कलाको जगेर्ना गर्नको लागि उनि लागिरहे ।

कलाकार पुन विकास चाहिएपनि रैथाने सीपलाई कसरी संरक्षण गर्नेमा समेत ध्यान दिनुपर्ने बताउँछन् । यसको लागि सरकारले एउटा मापदण्ड बनाउनुपर्नेमा उनको जोड छ । सरकारी निकाएले वर्षै पिच्छे डिजिटल बोर्ड लेखाउनु भन्दा जस्तापातामा लेखायो भने ४-५ वर्ष टिकाउ हुने मात्र नभएर हेर्दा राम्रै र कलाको सम्मान हुने उनको बुझाइ छ । सरकारी निकाय र ठूला व्यापारिक घरहनाले पेन्टिङ पेशालाइ धरापमा पर्न नदिन यसको प्रयोलाई बढाउन सहयोग गर्नुपर्ने उनको जोड छ । डिजिटल फोटो भन्दा कला कृति सजावट गर्ने गर्न उनको आग्रह छ ।
उनले आफ्नो व्यवसायलाई ७-८ वर्षदेखि ग्यालरीको रूप दिएका छन् । आर्ट ग्यालरीमा आफूले सिर्जना गरेका कलामात्र राखेका छैन् । भक्तपुर, काठमाण्डौ, ललितपुरा लगायतका देशका विभिन्न ठाउँका कलाकारले कोरेका पेन्टिङ झुन्ड्याएका छन् । यसो गर्दा ग्राहकले भेरायटी मात्र पाउने सबैको कलाको कदर हुने उनको विश्वास छ ।
ग्यालरीमा परिवर्तन नगर्दा सम्म विदेशीहरू कला किन्न आउने गरेकोमा ग्यालरीमा ढालेपछि नेपालीले किने तर विदेशीले नकिनेको अनुभव उनीसँग छ । विदेशीले मौलिकता खोज्ने भएको कारण यस्तो भएको बुझाइ उनको छ । उनले आफ्नो पसललाई डिजिटल प्रविधिमा प्रवेश गराएका छैनन् । अझैपनि त्यहाँ हातले कलाकृति तयार पारिन्छ । यो कामको जिम्मेबारी अहिले भाइलाइ दिएका छन् ।

पेन्टिङ कलासँगै पुनले अहिले सामाजिक पाटोमा क्रियाशिलता बढाइरहेका छन् । ४० को दशकमा खिचेका वेगनास तालसहित पोखरा असपासका तस्बिरहरु समावेश गरी किताब प्रकाशन तयारी उनको छ ।
४२ वर्षको यात्रामा हालसम्म एकल कला प्रदर्शनी नगरेको उनले अब गर्ने सोच समेत बनाएका छन् । उनका अहिलेसम्म ५ वटा कृति प्रकाशन भइसकेको छन् । नियात्रा, लोक संस्कृति, सस्मरण, वातावरण सम्बन्धी गरेर ४-५ वटा किताब प्रकाशन गर्ने समेत उनको योजना छ । विभिन्न संघसंसथामा आवद्ध रहेर उनले काम गरिरहेका समेत छन् ।











