पोखरा । रियालिटि शो एक्टिङ स्टारको फाइनलमा प्रवेश गर्न सफल रेवन राईलाई जिताउन पोखराबाट ‘रेवन राई जिताऔँ’ अभियान सुरु भएको छ । जन्मथलो सुनसरी भएपनि रङ्गकर्मको यात्रा पोखराबाट सुरु गरेका राई फाइनलमा प्रवेश गरेपछि पोखरा थिएटरको पहलमा समिति नै गठन गरेर ‘रेवन राई जिताऔँ’ अभियान सुरु गरिएको हो । जसको संयोजन रङ्गकर्मी रमेश बाबु तिमल्सिनाले गर्दैछन् ।
अभियानका संयोजक तिमल्सिनाका अनुसार राईलाई जिताउने अभियानको सदस्यहरूमा देव बस्नेत, राजेश बस्नेत, मिलन शङ्कर, बिक्रम तामाङ, मन्दिप केशी, प्रभात पण्डित र अनिमेष श्रेष्ठ रहेका छन् । अभियानको सल्लाहकारहरूमा घनश्याम लामिछाने, प्रमिला तुलाचन, नेत्र गुरुङ, दिलप्रसाद गुरुङ रहेका छन् । अभियानका सबै सदस्य एवं सल्लाहकारहरूले रेवनलाई विजेता बनाउन प्रचार प्रसार र भोटिङमा आआफ्नो तर्फबाट सहयोग गर्ने संयोजक तिमल्सिनाले बताए ।
कलाकारिता क्षेत्रमा स्थापित हुने लक्ष्यका साथ राजधानी बसेर सङ्घर्ष गरिरहेका राईको अभिनयलाई रियालिटि शो का दर्शकले उत्तिकै रुचाएका छन् । रङ्गकर्मबाटै अगाडि आएका राईको अभिनयमा परिपक्वता देखिन्छ । उनलाई नेपालबाट ओएसआर कनेक्ट एपमार्फत र विदेशबाट भने सिनेमाघर एपमार्फत भोट गर्न सकिन्छ । महक मिडिया नेटवर्कले निर्माण गरेको उक्त शो एपी वान टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रशारण हुने गर्छ । राईले केही लघु चलचित्र, नाटकहरूमा अभिनय गरिसकेका छन् ।
उनलाई नेपालबाट ओएसआर कनेक्ट एप डाउनलोड गरी एक्टिङ स्टारमा क्लिक गरेर रेवन राईको फोटोमा क्लिक गरी भोट दिन सकिनेछ। नेपाल भन्दा बाहिर भएकोले सिनेमा घर एप डाउनलोड गरेर एक्टिङ स्टारमा क्लिक गरेर रेवन राईको फोटोमा क्लिक गरी भोट दिन सकिनेछ।











